Site icon Subhatime

अपाङ्ग बालबालिकाकाे क्षेत्रमा काम गर्ने एच आर.डि.सीले बुझायो मेलम्ची र पाँचपोखरीलाई परियोजना

सिन्धुपाल्चोक । अपाङ्गता भएका बालबालिकाहरूको पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै आएको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बालबालिकाहरूको पुनर्स्थापनाका लागि पहल परियोजना एच आर.डि.सिको सामाजिक लेखा जोखा तथा परियोजना हस्तान्तरण कार्यक्रम पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सम्पन्न भएको छ । 

Iमेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सञ्चालित परियोजना संस्थाले गत सोमबार मेलम्चीमा र बुधवार पाँचपोखरीमा हस्तान्तरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष टासी लामाले परियोजनाले २ वर्षमा पालिकामा गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले कम्तीमा आफ्नो कार्यकालभरि भए पनि संस्थासँग सहकार्यको अपेक्षा गरेको बताउनुभयो । 

अध्यक्ष लामाले शिक्षा,स्वास्थ्य,कृषि र पर्यटनका क्षेत्रलाई पालिकाले प्राथमिकता दिएको बताउँदै पालिकाको अभियानलाई सहयोग गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो । 

अध्यक्ष लामाले अपाङ्गता भएका बालबालिकाको पुनर्स्थापनाको क्षेत्रमा गरेका कामले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले आगामी दिनमा पनि अपाङ्ग बालबालिकाको क्षेत्रमा सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष कालेले पालिकाले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा आगामी दिनमा पालिकाले विशेष ध्यान दिने बताउनुभयो । 

उहाँले भवन तथा संरचनाहरू अपाङ्ग मैत्री नभए पनि अपाङ्गता भएका नागरिकहरूलाई पहुँच पुग्नेसरि सेवा दिने उल्लेख गर्नुभयो । कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बालबालिकाहरूको पुनर्स्थापनाका लागी पहल परियोजना एच आर डि सिको आयोजनामा भएको कार्यक्रममा संस्थाका परियोजना संयोजक मित्र देउजाले संस्थाले विगत देखि हाल सम्म गरेका काम र उपलब्धिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सी.वि.एमको आर्थिक सहयोगमा सञ्चालित परियोजना बाट मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा गरी ३०२ जना बालबालिकालाई सहयोग पुर्‍याएको थियो ।

जसमा पाँचपोखरीका ९७ र मेलम्चीका २०५ जना बालबालिका रहेका छन् । परियोजना हस्तान्तरण कार्यक्रममा परियोजनाका पर्यवेक्षक लेखनाथ आचार्यले मेलम्ची र पाँचपोखरीमा संस्थाले सुरु देखी हाल सम्म गरेका कामको प्रस्तुतीकरण गर्नुभएको थियो । महिला बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख शारदा उप्रेतीले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाले गरेको कामको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा पालिकाले संस्थाका कर्मचारीहरूलाई कदर पत्र सहित सम्मान गरिएको थियो । संस्थाले विगत २ वर्षमा अपाङ्गता शिविर सञ्चालन गरी अपाङ्गता पहिचान गरी आवश्यकता अनुसार उपचार, फिजियोथेरापि सेवा प्रदान, अपाङ्गता सहायक सामाग्री वितरण, अपाङ्गता भएका बालबालिकालाई शैक्षिक प्रोत्साहनका लागि कीट वितरण गरिएको अपाङ्गता भएका बालबालिकाहरूलाई आर्थिक विकासका लागि जीविकोपार्जन सहयोग लगायत टोल, विद्यालय,आमा समूह लगायतमा अपाङ्गता सम्बन्धी अभिमुखीकरण लगायतका कार्यक्रमहरू सञ्चालन भएको जानकारी गराइएको थियो ।

Exit mobile version