मेलम्ची । तीन महिने सिलाई कटाइ तथा पाँच दिने झोल साबुन र सरफ बनाउने तालिम मेलम्चीमा सम्पन्न भएको छ ।

रिड नेपालको आयोजना,करुणा ट्रस्टको आर्थिक सहयोग र मेलम्ची नगरपालिकासँगको समन्वयमा भएको तालिममा वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका महिलाहरूको सहभागिता रहेको थियो । 

नगर प्रमुख आइतमान तामाङले तीन महिनाको तालिम अपुग भएमा सक्रिय रुपमा पुनः तालिम लिन आग्रह गर्नुभयो । 

उहाँले टिम बनेर तालिमको माग गरेर आएमा नगरपालिकाले तालिमको लागि बजेट बनाउन तयार रहेको जानकारी गराउनुभयो ।

नगर प्रमुख तामाङले सिलाइ बुनाइ र झोल साबुन बनाउने तालिम लिएकाहरूले निरन्तरता दिएमा जीविकोपार्जनमा टेवा पुग्ने बताउनुभयो । तामाङले जुन सीप जसले सिके पनि हुने भन्दै प्रयोगमा ल्याउन समेत सुझाउनुभयो । 

तामाङले रिड नेपालले गरेका कामको बारेमा चर्चा गर्दै स्थानीय पाठ्यपुस्तक निर्माण ,शिक्षा ,तालिमलगायतका क्षेत्रमा गरेको कार्यले नगरपालिकालाई फाइदा पुगेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख उमा प्रधानले आफूले सिकेको सीपलाई निरन्तरता दिन सुझाउनुभयो । एडभान्स र बुटिक तालिमको आवश्यकता रहेको बताउनुहुँदै उपप्रमुख  प्रधानले व्यावसायिक रुपमा काम गर्न आग्रह गर्नुभयो । व्यावसायिक रुपमा काम गर्दा परेका अफ्ठ्यारा, समस्या समाधानका लागि नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले तालिम लिइसकेपछि निरन्तर सीपको उपयोग गर्न सुझाउनुभयो । उहाँले आगामी दिनमा अनुगमनका क्रममा आउँदा व्यावसायिक रुपमा काम गरिरहेको देख्न पाउनुपर्ने बताउनुभयो ।मिश्रले सिकेका सीप,समय र राज्यको लगानी खेर जान नदिनका लागि सचेत रहन समेत सुझाउनुभयो ।

तालिममा सहभागी सबिना तामाङ,शर्मिला श्रेष्ठले तालिम उपलब्धि मूलक रहेको बताउनुभयो । सहभागीहरूले कुनै विषयमा अझै अस्पष्टता रहेको भन्दै पुनः तालिमको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल,राजस्व शाखा प्रमुख राजेन्द्र दुलाल,वातावरण अधिकृत सुजन दुलाल मेलम्ची १० का वडा सदस्य ज्ञानबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो । रिड नेपालकी वातावरण अधिकृत सुशीला कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय