सिन्धुपाल्चोक । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले नेपालमा परिवर्तन नचाहने शक्तिहरू सलबलाएको आरोप लगाउनुभएको छ ।

एमाले मेलम्ची नगर कमिटीले शुक्रवार मेलम्चीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले देश निर्माणको जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभयो । 

सचिव विष्टले नेपालको इतिहासमा गएका दुई वर्षमा सबैभन्दा धेरै युवाहरू विदेशीएको भन्दै एमालेको सरकारको पालामा देशमै केही गर्छु भन्ने युवाहरू आज विदेशमा पलायन हुन परेको बताउनुभयो ।

एमालेले युवाहरूमा भरोसा र आम जनतामा आशा जगाउनु पर्ने विष्टको भनाइ थियो ।

सचिव विष्टले देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको बताउनुभयो । उहाँले कोरोना,भूकम्प जस्ता अवस्था सामना गर्दा समेत यस्तो अर्थतन्त्र नभएको उल्लेख गर्दै अहिले व्यापारी तथा व्यवसायीहरू चौतर्फी घेराबन्दीमा परेका कारण उत्साह नभएको बताउनुभयो ।

उहाँले एमालेले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै देशलाई आर्थिक हिसाबले तुलनात्मक रुपमा आत्मनिर्भर बनाउने,प्राकृतिक स्रोत र साधनहरूलाई अधिकतम उपयोग गर्दै देश विकासमा अगाडी बढाउने सन्दर्भ नै अहिलेको सवाल रहेको बताउनुभयो । उहाँले यस्ता सवालहरू जबसम्म नेकपा एमाले बलियो हुन सक्दैन ,एमालेको सरकार बन्दैन तबसम्म यो सवाल अगाडी बढ्न नसक्ने बताउनुभयो ।

सचिव विष्टले आगामी दिनहरूमा गणतन्त्र विरोधी नारा र साम्प्रदायिक सद्भाव बिथोलेर देशलाई अस्थिरताको खाडलतिर धकेल्न प्रयत्न गर्न सक्ने भएकाले यस्ता कुरामा जोगिने र देशलाई जोगाउने प्रमुख जिम्मेवारी एमालेको भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय