काठमाडौँ । खेलाडी उत्पादन गर्ने उद्देश्यले नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ क्षेत्र नम्बर २ सम्पर्क मञ्चले ‘अन्तरपालिका स्तरीय’ फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । 

फुटबल खेलमा भविष्य देखेका सिन्धुपाल्चोकका क्रियाशील फुटबल खेलाडीलक्षित प्रतियोगितामा सिन्धुपाल्चोकका १२ वटै पालिकाका युवा खेलाडीहरूको उपस्थिति रहेको थियो । 

काठमाडौँको गोकर्णेश्वर नगरापालिका-४ माकलबारी स्थित मनकामना फुटसलमा खेलाडीहरूलाई प्रोत्साहन स्वरूप शनिवार प्रतियोगिताको आयोजना गरेको हो । 

कार्यक्रम एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले उद्घाटन गरेका थिए । गाउँ गाउँबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष पशुपतिनाथ तिमल्सिनाले बताए । ‘गाउँ गाउँबाट,पालिका पालिकाबाट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले नै हामीले यो कार्यक्रम आयोजना गर्दै छौँ,लुकेका प्रतिभाको प्रस्फुटन हुन्छ भन्ने हाम्रो विश्वास हो’,उनले भने । 

तिमल्सिनाले सङ्घीय सरकार स्थानीय तहले पनि खेल क्षेत्रमा लगानी नगरेको प्रति दुखेसो पोखे । उनले खेलाडी उत्पादनमा राज्य जिम्मेवार हुनुपर्ने बताए । ‘खेल क्षेत्रमा सङ्घीय सरकार,स्थानीय सरकारले खासै लगानी गरेको देखिँदैन,राज्यले खेल क्षेत्रलाई उचित व्यवस्थापन र प्रवर्द्धन गर्ने हो भने नेपालको गरिमा बढ्न समय लाग्दैन,यसमा राज्य जिम्मेवार हुनुपर्‍यो’,उनले भने ।

प्रतियोगिताको उपाधि मेलम्चीलाई 

सुनकोसी गाउँपालिकालाई २ –१ ले हराउँदै मेलम्ची नगरपालिकाले उपाधि हात पारेको छ ।  प्रतियोगिताका उपाधि विजेता मेलम्ची नगरपालिकाले नगद २० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको सुनकोसी गाउँपालिकाले नगद १५  हजार सहित साथमा  मेडल र प्रमाणपत्र प्राप्त गरेको छ त्यस्तै तेस्रो स्थान हासिल गरेको पाँच पोखरीथाङ्पाल गाउँपालिकाले नगद १० हजार सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।  प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ताको उपाधि मेलम्चीका रमेश तामाङ , उत्कृष्ट खेलाडीको उपाधि मेलम्चीकै सुमन तामाङ , उत्कृष्ट गोलरक्षकको उपाधि मेलम्चीकै राजन सिग्देलले  प्राप्त गरेका छन् ।  उनीहरूलाई जनही नगद दुई/दुई हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन ट्रफी प्रदान गरिएको सम्पर्क मञ्चका क्षेत्रीय सचिव आत्माराम सिग्देलले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय