मेलम्ची । मेलम्ची नगरपालिकाले नगरपालिकाको आन्तरिक स्रोतबाट मोटेरेवल पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको गत साता बसेको कार्यपालिका बैठकले नगरपालिकाको आन्तरिक स्रोतबाट मेलम्ची बजारमा पुल निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । सो निर्णय अनुसार साउन ९ गते मंगरबार पुलबन्ने स्थान फट्टेमा संभाब्यता अध्ययनको लागि निरिक्षण गरिएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । मेलम्ची बजार नजिकै फट्टेमा बनेको पुल २०७८ असार १ को मेलम्ची खोलामा आएको बाढीले बगाएपछि सो स्थानमा पक्की पुल निर्माण गर्न लागिएको हो । मेलम्ची नगरपालिका हँुदै मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपलिका सम्म जोड्न सकिने पुल बगाएपछि स्थानीयले बर्खाको समयमा सास्ती झेल्नुपरिरहेको छ ।

केन्द्र र प्रदेश सरकारलाई दुई बर्षसम्म हारगुहार गर्दा पनि पक्की मोटेरेवल पुल निर्माणमा चासो नदिएपछि नगरपालिका आफैँले पुल निर्माण गर्न लागिएको नगर प्रमुख तामाङले बताउनुभयो । अहिले संभाब्यता अध्ययनको लागि निरिक्षण गरिएको र छिट्टै अध्ययन सम्पन्न भएपश्चात् डिपिआरको प्रक्रिया अगाडी बढाउने प्रमुख तामाङले बताउनुभयो । बिस्तृत प्राविधिक अध्ययन पछि सम्बन्धीत निकायबाट स्वीकृति लिएपछि निमार्ण प्रक्रिया अगाडि बढ्ने इन्जिनियर जितबहादुर कार्किले बताउनुभयो । प्राविधिक हिसाबले अध्ययन गरिसकेपछि प्रदेश र सघं सरकार सँग समन्वय गर्दै अगाडि बढ्ने नगरपालिकाले जनाएको छ । स्थानीयको जनगुनासोलाइ छिटो सम्बोधन गर्न तिव्र गतिमा पुल निमार्णको प्रक्रिया अगाडि बढ्ने उपप्रमुख उमा प्रधानले बताउनुभयो ।

देशभरिकै स्थानिय तह मध्य मेलम्ची नगरपालिकाले आन्तरिक स्रोतबाट पुल निर्माण गर्न लागेको पहिलोपटक हो । अधिकांश स्थानीय तहमा केन्द्र र प्रदेश सरकारले पुल निर्माणको लागि बजेट बिनियोजन गर्ने गरेको भएपनि मेलम्ची नगरपालिकाको मागलाई सघं र प्रदेश सरकारले बेवास्ता गरेपछि केन्द्र र प्रदेश सरकारको मुख नताकी जनताको समस्यालाई मध्यनजर गर्दै आफ्नै स्रोतबाट पुल निर्माण गर्न लागिएको वडा नम्बर ८का वडा अध्यक्ष जित बहादुर तामाङले बताउनुभयो ।

हिउँदको समयमा ह्युम पाइप राखेर अस्थाई रुपमा आवतजावतमा सहजभएपनि बर्खाको समयमा पुल नहुँदा निकै समस्या खेप्न परेको भन्दै यथासिघ्र पुल निमार्णको कामलाई तिव्र गतिमा अगाडि बढाउन पर्ने वडा नम्बर ७का वडा अध्यक्ष पासाङ तामाङले बताउनुभयो । अहिले इन्दावती नदिमा बेलिबृज निर्माण भइसकेको छ भने, हेलम्बु जोड्ने चनौटे बजारमा समेत बेलिबृज निर्माण भएको छ । निरिक्षणका लागि नगर प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान , वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ दोङ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, लेखा अधिकृत मुरारी पुडासैनी ,मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्की , प्राबिधिक टिम पदम तामाङ ,सन्तोष गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय