रुपक पुरी , चौतारा । चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका महिला उद्यमी बन्नथालेका छन् । नगरपालिका–६ पीपलडाँडाकी लक्ष्मी पुरी अहिले गाउँमै खेर गइरहेको बाँसको प्रयोग गरी व्यवसायी बन्नुभएको छ । उहाँले बनाएको बाँसले सामग्री छिमेकी मुलुक चीनमा समेत निर्यात हुन थालेका छन् ।

अहिले पुरीको दैनिकी बाँसमै सामग्री बनाएर बित्छ । उहाँसहित गौराती भीमेश्वर महिला सञ्जालका सदस्यहरू बाँसको प्रयोग गरेर मुढा बनाउँछन् । “चीन लैजान थालिएपछि हामी झनै उत्साहित भएका छौँ”, उहाँ भन्नुहुन्छ, “समूहमा काम गर्छौँ, स्थानीय सरकारको सहयोगले पनि हामीलाई हौसाएको छ ।” स्थानीय बजारमा पनि मुढा खपत हुने हुँदा आफैँ आत्मनिर्भर हुन सकेको उहाँ बताउनुहुन्छ ।

पुरीले मुढा बनाउन त्यतिकै थाल्नुभएको हैन । गाउँघरमा सामान्य खेती गर्दै आउनुभएको उहाँलाई बाँदरले पिरलो थप्योे । लगाएका अन्नबालीलाई बाँदरले सखाप पार्दथ्यो । अनि उहाँले विकल्प रोज्नु भने वैकल्पिक व्यवसाय । रोजाइमा पर्यो बाँसका मुढा बनाउने । “बाँदरले दिक्कै लगाउँथ्यो अनि अरू केही काम गरुँ भन्ने सोच आएको हो”, उहाँ भन्नुहुन्छ, “दिनरात बाँदर कुर्नुभन्दा केही कमाई पनि हुने यही पेसा निकै ठीक लाग्यो ।”

यस्तो समय पनि थियो जतिबेला घरको चौघेराबाट पाइला झिक्न डराउनुपथ्र्यो उहाँलाई । परिवारका अभिभावक अनि समाजकै डरले उहाँले आफूलाई घरभित्रकै चुलोचौकामा सीमित राख्नुभएको थियो । यो उहाँको बाध्यता थियो । तर, अहिले पुरीको जीवन उतिबेलाको जस्तो छैन । उहाँ अहिले खुला हुनुहुन्छ र सबैको प्रिय पनि । कारण उहाँ अहिले उद्यमी बन्नुभएको छ ।

यसको अर्को उदाहरण हुनुहुन्छ चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खुकी सृजना विक । उहाँलाई यहाँ एक सफल उद्योगी मानिन्छ । विकले कपडा सिलाइकटाइको व्यवसाय गर्न थालेकै १२ वर्ष बित्यो । यो क्रममा उहाँले निकै चुनौतीको सामना गर्नुभयो । आफैँ अघि बढ्नुपर्छ भने सङ्कल्प लिएर सुरु गरेको व्यवयायबाट उहाँ अहिले निकै सन्तुष्ट हुनुहुन्छ । “आफ्नै कमाईले घरव्यवहार चलाउँछु, अरू कसैको भर पर्नुपर्दैन”, उहाँ भन्नुहुन्छ, “पहिले सामान्य सीप सिकेँ, अनि आँट गरेर काम गर्न थालेँ, अहिले सफल उद्यमी बनेकी छु ।”

उहाँ सबैका लागि कपडा सिलाउनुहुन्छ । र त सिकाउनु पनि हुन्छ । नयाँ व्यवसाय गर्न चाहने महिलाहरुलाई आफ्नो सीप सिकाउँदै आएको सृजनाले बताउनुभयो । उहाँको कामप्रतिको मेहनत र लगनशीलता देखेर अन्य महिला पनि यस पेसाप्रति आकर्षित भए । यसअर्थमा उहाँ पथप्रदर्शक बन्नुभयो । सृजनाकै सिको गर्दै अहिले धेरै महिलाहरु व्यावसायिक भएका छन् । आत्मनिर्भर बनेका छन् । “मलाई यो पेसाप्रति निकै गर्व लाग्छ र खुसी पनि छु”, उहाँले भन्नुभयो ।

नगरले हरेक गाउँमा उद्योगको परिकल्पना गरेको छ । सुरुआतमा महिलालाई उद्यमी बनाउँदै लगेर गाउँमै उद्योग स्थापनाका लागि खुड्किलो तयार गरिँदै गरेको अवस्था भएको नगरउपप्रमुख सीता थापा बताउनुहुन्छ ।

हरेक गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउन कृषि, उद्योगलाई जोड दिई गाउँमै दक्ष जनशक्ति तयार गर्ने लक्ष्य छ”, उपप्रमुख सीता भन्नुहुन्छ, “घरघरमा रोजगारको व्यवस्था र एक वडा एक उत्पादनलाई प्रोत्साहित गर्ने चुनावी घोषणा थियो, त्यसैलाई पूरा गर्ने आधार नै उद्यमीलाई सहयोग गर्नु हो ।”

यसअघि घरायसी काम र परिवारमा पुरुष सदस्यकै कमाईमै निर्भर रहेका यहाँका महिलाले पछिल्लो समय आत्मनिर्भर बन्न व्यवसाय रोज्न थालेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका–७ सानो सिरुवारीकी उद्यमी लक्ष्मी नेपालले उद्यम गर्दा समयको सदुपयोग मात्रै नभई हातमा सीप हुनाका साथै आयआर्जनसमेत भएको बताउनुभयो । “हामी पहिला उत्तिकै घरमा बसिरहेका हुन्थ्यौँ”, उहाँ भन्नुहुन्छ, “अहिले यो सीप सिकेर हामी आफैँमा आर्थिक अवस्थामा बलियो पनि भएका छौँ ।” उहाँले महिलाहरु परनिर्भर नरहन हरेकले केही सीप सिकेर व्यवहारमा लागू गरी आफैँमा निर्भर रहनुपर्ने बताउनुभयो ।

“कमाई हुँदा र नहुँदा समाजले हेर्ने दृष्टिकोण फरक हुँदोरहेछ, पहिला बेवास्ता गर्नेहरु आफ्नो हातमा सीप र कामसमेत हुँदा नजिक आएर बोलिदेओस् भन्ने सोच्दा रहेछन्”, लक्ष्मीले अनुभव सुनाउनुभयो, “झनै हातमा केही पैसा हुने भएपछि मानिसको व्यवहार नै फरक हुँदोरहेछ ।” यो नगरपलिकामा सिलाइकटाइ, मुढा बनाउने मात्रै नभई गलैँचा बुन्ने खोस्टाको सामग्री बनाउने, डोको बुन्ने, ब्युटिसियन काम गर्ने उद्यमीहरु प्रशस्तै छन् । उनीहरुलाई थप व्यवसायी बनाउन नगरपालिकाले सहयोगसमेत गर्दै आइरहेको छ ।

हरेकजसो गाउँगाउँमै महिला उद्यमीहरु बढेसँगै युवतीहरुले पनि सीप सिक्ने मात्रै नभई कामसमेत पाएका छन् । निम्न आयस्रोत भएका महिलालाई त्यही सीप अहिले आयआर्जनको माध्यम बनेको छ । यहाँबाट आम्दानी भएको पैसाले उनीहरु घरखर्च धान्ने, छोराछोरीको अध्ययनमा सहयोग गर्नेलगायतमा खर्चिन्छन् । अधिकांश महिलाले भने आम्दानी भएको रकम सञ्चय गर्नेसमेत गरेका छन् ।

स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी नगरवासी महिलाले गाउँमै व्यवसाय गरेर गाउँलाई आर्थिक समृद्धितर्फ डोहोर्याइरहेका छन् । सधैँजसो खेतीपाती, घाँस–दाउरा तथा चुलोचौकामा व्यस्त हुने महिलालाई अहिले आफ्नो व्यवसाय गर्न भ्याइनभ्याइ छ । कपडा सिलाउने, मुढा बुन्ने, गलैँचा बुन्ने चटारोले अहिले हरेकजसो गाउँका महिलालाई छोएको छ । ‘सँगैका साथीहरु यो पेसामालागेकाले मलाई पनि इच्छा भएको हो”, लक्ष्मी भन्नुहुन्छ, “गाउँमै बसेर कम्तीमा पनि मासिक १५र२० हजार रुपैयाँसम्म कमाइ हुने भएपछि गाउँवासी महिला यसैमा खुसी छन् ।” उहाँले गाउँमै राम्रो आम्दानी हुने भएपछि विदेशमा युवा पलायन रोकिइने विश्वास व्यक्त गर्नुभयो ।

व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका महिलालाई बिहान बेलुकाको छाक टार्न निकै सजिलो भएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उनीहरुले विदेशिएका युवायुवतीलाई चुनौती दिएका छन् ।

पछिल्लो समय गाउँका युवामा विदेश मोह बढेको स्वीकार्दै उहाँले महिलाले गरेको यो पेसा पुरुषका लागि चुनौती रहेको समेत सुनाउनुभयो । “गाउँकै महिला एकजुट भएर गाउँमै रोजगारीको वातावरण सिर्जना गरिरहेका छन्”, उहाँ भन्नुहुन्छ, “अब पुरुष पनि यसरी नै एकजुट भई गाउँमै रोजगार हुनुको विकल्प छैन ।” उहाँले गाउँमा महिला उद्यमी बढ्दै गर्दा पुरुषका लागि रोजगारीको चुनौती भएको बताइनुभयो । “गाउँलाई समृद्ध बनाउने भूमिका सबैको हो । जसका लागि अर्थतन्त्रमा अब्बल हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले पनि यस्ता उद्यम गर्न चाहने महिलाका लागि विभिन्न सहयोग गर्दै आइरहेको छ । जसका कारण गाउँमा उद्यमी महिलाहरु पनि उत्साहित छन् । हालै मात्र नगरपालिकाको सहयोगमा महिलाका लागि ४५ दिने एड्भान्स सिलाइकटाइ तालिम गरिएको नगरकी उपप्रमुख थापाले जानकारी दिनुभयो ।

“महिला, पिछडिएका वर्ग, दलित, जनजाति, सीमान्तकृतलगायत समुदायमा रोजगारीको सिर्जना गर्न नगरले पहलकदमी लिएको छ”, उहाँले भन्नुभयो, “त्यस्ता वर्गलाई स्वरोजगार बन्नका लागि सीप तथा आयमूलक तालिमहरु सञ्चालन गरेर आफ्नै खुट्टामा उभिने वातावरण गरिनुपर्छ, त्यो निकै आवश्यक हो ।” महिला उद्यमीबाटै आयआर्जनमा वृद्धि गरी नगर समृद्ध बन्न सक्छ भन्ने उदाहरण देखाउनेतिर लाग्न पनि यस्ताखाले उद्यमीलाई अगाडि बनाउनुपर्ने धारणा उपप्रमुख थापाको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय