काठमाडौँ -निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन गर्ने भएको छ । गत आइतबार र सोमबार उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गरेको आयोगले आज नामावली प्रकाशन गर्ने भएको हो । निर्वाचन कार्यतालिका अनुसार आज साँझसम्म आयोगले मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गर्नेछ ।

त्यसपछि नामावली सार्वजनिक गर्नेछ । आज सार्वजनिक भएको नामावलीमा उम्मेदवारले नाम फिर्ता लिन चाहे भोलिसम्म लिन सक्नेछन् । आयोगले भोलि अन्तिम नामावली प्रकाशन गर्ने तथा पर्सि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तयारी गरेको छ । यी सबै कार्यक्रम सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय