सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका भित्रको सिन्धुखोला जर्के खोला, मेलम्ची खोला र इन्द्रावती नदी बगर क्षेत्रबाट दिगो रूपमा ढुङ्गा, गिट्टी तथा बालुवाको सङ्कलनरउत्खनन कार्य सञ्चालनको लागि गर्न लागिएको प्रारम्भिक वातावरणीय परीक्षण आइइको प्रारम्भिक प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । परामर्शदाता इन्जिनियरिङ प्रोफेसनल प्राक्टिस प्रा‍‍‍।लिले तयार गरेको प्रारम्भिक वातावरणीय उपर सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइमा बोल्नुहुँदै अधिकांश जन प्रतिनिधिहरूले क्रसर मापदण्डमा नचले बन्द गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका अध्यक्ष एवं मेलम्ची नगर प्रमुख आइतमान तामाङले क्रसर मापदण्डमा नचले बन्द गर्नुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो । उहाँले नदी उत्खनन गर्दा मेलम्ची कुरूप भएको ,वातावरणमा असर गरेको ,स्थानीयको स्वास्थ्यमा असर गरेको भन्दै मापदण्ड पुरा गरे नगरेको हेरेर मात्र सञ्चालन गर्न दिइने बताउनुभयो । उहाँले यसबाट उठ्ने १७ ,१८ करोड भन्दा जनताको स्वास्थ्य ठुलो रहेको बताउनुभयो ।

प्रदेश सरकारले यहाँबाट उठेको रकमको ४० प्रतिशत रकम लाने तर यसैका कारण विपत्ति आउँदा नहेरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले फट्केश्वर साँखु चल्ने टिपरको समय व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सडकमा धेरै दुर्घटनाका घटना हुने गरेको बताउँदै क्रसरवालाहरूले मापदण्डमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा मेलम्ची ११, १२, ५ ,६ ,७ का वडा अध्यक्षहरू चन्द्रबहादुर तामाङ, गणेश तामाङ, राजु रायमाझी , प्रेम तामाङ, पासाङ तामाङले केही करोड आयको लोभमा मेलम्चीको सौन्दर्य यहाँका स्थानीयको स्वास्थ्यमा असर पुग्ने काम गर्न नहुनेमा जोड दिनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले टिपरले पानी चुहाउँदा सडकमा समस्या भएको बताउनुभयो । उहाँले निर्माण सामग्री बोकेका गाडी बन्दै गर्न तथा नदी उत्खनन बन्द गर्दा निर्माण कार्यमा असर गर्ने हुँदा मापदण्ड तथा नियम अनुसार चलाउनु पर्नेमा जोड दिनुभयो । मेलम्ची नगर अस्पतालका प्रशासन प्रमुख ज्ञानेन्द्र सिग्देलले टिपर जथाभाबी कुद्दा तथा अन्य आन्दोलनले समयमै अस्पताल पुर्‍याउन समस्या भई बिरामीको ज्यान जोखिममा परेको बताउनुभयो ।कार्यक्रममा क्रसर व्यवसायी, सुरक्षाकर्मी , पत्रकार, कर्मचारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय