काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सरेस नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई पत्र लेख्नुभएको हो । 

जुगल गाउँपालिका-३ गुम्बामा निर्माणाधीन सीता हाइड्रोपावरको ज्यादतीविरुद्ध आन्दोलनको सानो झिल्को मात्रै रहेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’गृहमन्त्री भएको बेला एकपक्षीय रिपोर्ट बनाई उल्टै पीडितहरूलाई मुद्दा लगाएको उहाँको आरोप छ । 

आफ्नै जग्गामा आलु खेती गरिरहेकी १४ वर्षकी नोर्जी वाङमु लामा हाइड्रोपावरकै कारणले ज्यान गएपछि आक्रोशित स्थानीयलाई समातेर जेल चलान गरेको नेपालले उल्लेख गर्नुभएको छ।

उहाँले प्रचण्डलाई सर्वसाधरणको कुरा किन सुन्न नचाहेको भन्दै प्रश्न गर्नुभएको छ,‘कमरेड तपाईँको नेतृत्वको सरकार किन सर्वसाधारण गाउँलेको कुरा सुन्न चाहँदैन रु ठुला निजी लगानीकर्ताहरूले गरेको जनताको जीउ धनको लापरबाही प्रति किन आँखा चिम्लिन्छ रु वर्षै पिच्छे पचासौँ स्थानीय हाइड्रोको कारण सृजित बिपदबाट ज्यान गुमाइरहेका छन्’,उहाँले लेख्नुभएको छ । 

उहाँले लेख्नुभएको पत्र-

कमरेड प्रचण्डलाई चिठी 

अभिवादन कमरेड ! व्यस्तै हुनुहुन्छ होला । यो भिडियो हेरिदिन भ्याउनुहुन्थ्यो कि भनेर ध्यानाकर्षण गरेँ । सिन्धुपाल्चोक जिल्लाको भौगोलिक रूपले बिकट गुम्बाका स्थानीयले सिता हाइड्रोको ज्यादतीविरुद्धको आन्दोलनको सानो झलक मात्रै हो यो । 

तपाईँले गृह मन्त्रालय सम्हालेकै बेला ठाडो आदेशमा मन्त्रालयको टोली पठाई कर्मचारीको एकपक्षीय रिपोर्ट बनाउन लगाई यहाँका २२ जनालाई मुद्दा दर्ता गराई ११ हजार भोल्टको ट्रान्समिसन लाइनको पोलबाट ३ मि. पर आलु खेती गरिरहेकी १४ वर्षकी नोर्जी वाङम लामाको ज्यान गए पछि उनैका आफन्तहरूलाई वार्ताको नाममा काठमाडौँ बोलाई हाल चौतारा प्रहरी कष्टडीमा थुनेको विरोधमा यी जनता निरन्तर सङ्घर्षमा छन् । 

बालिकाको मृत्युबाट आक्रोशित स्थानीयबाट आयोजनाका केही मेसिन तोडफोड भएको विषयलाई निहुँ बनाई एमालेका काठमाडौँ रहेका कार्यकर्ताहरू समेतलाई मुद्दा लगाउने तर घटनास्थलमा उत्तेजना फैलाउने केहीको नाममा मुद्दा नपर्नुले राजनीति नियत राखेरै प्रहरी प्रशासनले काम गरेको प्रस्टै छ । उक्त धटना सिता हाइड्रोको ट्रान्समिसन लाइन र नेबिप्राको ११ हजार के.भि. लाइन छुट्टिने बिन्दु आसपास घटेकोले उक्त समयमा बिद्युत् प्राधिकरण र हाइड्रोको डिजेल प्लान्टबाट एकै चोटि प्रवाह भइरहेको कनेक्सनले हाई भोल्टेज भएको स्थानीयको आरोप छ ।

यस अघि पनि यस्तै प्रकृतिको घट्नाबाट एक मजदुरको मृत्यु भएको थियो । कमरेड तपाईँको नेतृत्वको सरकार किन सर्वसाधारण गाउँलेको कुरा सुन्न चाहँदैन ? ठुला निजी लगानीकर्ताहरूले गरेको जनताको जीउ धनको लापरबाही प्रति किन आँखा चिम्लिन्छ ? वर्षै पिच्छे पचासौँ स्थानीय हाइड्रोको कारण सृजित बिपदबाट ज्यान गुमाइरहेका छन् । त्यहाँका भिर पाखामा दर्जनौँ डोजर चलिरहेका छन् । ट्रान्समिसन लाइनका कारण गाउँमा सुत्केरी बचाउन हेलिकप्टर ल्यान्ड गर्न समेत ठाउँ नपाइने भइसक्यो । बस्ती माथि उच्च भोल्टका लाइनहरू तानिन्छन् । उजुरी सुनिँदैन ।

 जातीय पहिचानको मुद्दा उठाउनु हुँदा तपाईँहरू प्राकृतिक श्रोत माथि स्थानीयको अधिकारबारे किन चासो राख्नु हुन्न ? त्यहाँका जल, जङ्गल र जमिनसँग जोडिएका मानव बस्तीका सम्बन्ध, निर्वाह मुखी परम्परागत आर्थिक सामाजिक प्रणाली र ती समुदायको परिवर्तन र विकासमा त्यहाँका श्रोतको भूमिका किन बुझ्नु हुन्न ? के त्यहाँको नेसम खोलामा जोडिएको गुम्बावासीको कुनै सपना हुँदैन ? त्यो खोला भएरै त त्यहाँ मानव बस्तीको अस्तित्व सृजना भएको होला नि ? स्थानीयलाई अपराधीकरण गरेर यस्ता समुदाय जसले बाह्रै महिना आलु मात्रै पनि खानु पर्ने बाध्यता हुन्छ, निरक्षरता, कुपोषण, बालमृत्यको उच्चदरबाट पीडितलाई न्याय दिने कि जेलमा कोच्ने ? जहाँ माध्यमिक स्कुल पढ्न २ दिन सम्म पनि हिँड्नु पर्ने वडाहरू छन्, जहाँ स्वास्थ्य केन्द्र मात्रै हैन भोट हाल्न पनि बिच बाटोमा बास बस्नु पर्ने वडाहरू छन् ।

त्यस्ता जनताले निकालेको यो जुलुस र उनीहरूको पिडा बुझिदिने कोसिस किन गर्नु हुन्न ? हाइड्रो पावर कम्पनी सिन्धुपाल्चोकमा धेरै भित्रिएका छन् । निजी क्षेत्रको जिल्लाकै पहिलो जलविद्युत आयोजना माथिल्लो भोटेकोसी होस वा बहुचर्चित मेलम्ची खानेपानी आयोजना होस म जिल्ला विकास समितिको सभापति भएकै बेला अघि बढेका हुन् । 

सिन्धुवासी कहिल्यै विकास विरोधी भएनन् । कसैलाई जेल हाल्न गृहमा कार्यदल बनेनन् । वार्तामा बोलाएर प्रहरी बोलाई थुनाउने काम भएन । यति निकृष्ट प्रशासन त्यो पनि तपाई नै प्रधानमन्त्री भएको बेला पहिलो चोटि अनुभूत गरिरहेको छु । स्थानीय स्वायत्तता, सुशासन, संघीताको मर्म माथि यो वकालत आक्रमणले तपाईँको नेतृत्वको सरकार सिन्धुवासीको नजरमा कस्तो देखिएला आफैले अनुमान गर्नु नै हुनेछ धन्यवाद !

https://www.facebook.com/SareshNepal1/videos/240253791865412

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय