सिन्धुपाल्चोक / जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भडादर असुलीमा अनियमिता गरेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो बढाएको छ ।
प्रशासनले सोमबार यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरुको संयुक्त भेला गराई मापदण्ड विपरित भाडा अशुली गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा बसेको सर्वपक्षिय भेलाले हेलम्बु यातायात प्रालिले समस्याको समाधान गर्ने र त्यसको नियमन तथा कारबाहीका लागि सम्वन्धीत ट्राफिक प्रहरीले गर्ने निर्णय गरेको छ ।
काठमाण्डौंदेखि मेलम्ची, हेलम्बु क्षेत्रमा लगायतको सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगमा सञ्चालित यातायात कम्पनीले एकसाताभित्र नै सार्वजनिक स्थलमा भाडादरको बोर्ड बनाई टाँस गर्ने र अनिवार्यरुपमा सबै सवारी साधनभित्र यात्रुले देखिने गरि भाडादर टाँस गर्ने व्यस्था गर्नुपर्ने पनि निर्णय गरेको छ ।

कोष नियन्त्रक शम्भूप्रसाद पोखरेल, प्रहरी निरीक्षक संजिवकुमार यादव, ट्राफिक प्रहरी पोष्ट मेलम्चीका प्रहरी सहायक निरीक्ष कृष्णप्रसाद ओली नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठ, रेडक्रस मन्त्री कमलचरण कक्षपति, उपभोक्ता हित संरक्षण मञ्चका संसार श्रेष्ठ, सिन्धु हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक कुमार श्रेष्ठ, आमा याङ्ग्रीका सचिव सुरेश श्रेष्ठ, हेलम्बु गाउँपालिका वडा न २ का वडा अध्यक्ष पेम्बा लामा लगायतको उपस्थितिमा भएको छलफल कार्यक्रममा यात्रुबाहक गाडीले सामान ढुवानी गरेका पाइएमा कारबाही गर्ने र सहचालकलाई यात्रुहरुसँग मित्रवत व्यवहार गर्न अभिमुखी कार्यक्रम र परिचयपत्रको समेत व्यवस्था कम्पनीले मिलाउनु पर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
अधिकारी श्रेष्ठका अनुसार सुपर एक्सप्रेस मापदण्डको आधारमा सञ्चालन गर्न र मापदण्ड विपरित बढी भाडा अशुल गरेको पाइएमा कारबाही हुनका साथै प्रालि र स्थानीय सरकारको समन्वयमा बस स्टेशन, बस स्टप र यात्रु प्रतीक्षालयको निर्माण गर्ने लगायतको निर्णय पनि भएको छ ।

पछिल्लो समय हेलम्बु यातायातले तोकेको भाडादरभन्दा बढी अशुल्ने गरेको जनगुनासो बढ्न थालेपछि बढ्दो जनगुनोसोलाई सम्वोधन गर्न सोमबार बैठक बसेको हो । यो बैठकले सकारात्मक सुधार आउने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय