कानुन अनुसार विवाह गर्ने उमेर नपुगेकाले बच्चा जन्माएमा जन्मदर्ता गर्ने कि नगर्ने ? विवाह दर्ता नगरी जन्मदर्ता गर्न मिल्ने कि मिल्ने ? विदेशमा गरिएको छोडपत्र देशमा लागू हुने कि नहुने ?

सामाजिक सुरक्षा सम्बन्धी के–कस्तो व्यवस्था छ ?
प्रायः अन्योल भइरहने, नागरिकले जान्न चाहिरहेको कुरा जनप्रतिनिधि तथा स्थानीय पञ्जिकाधिकारीलाई स्पष्ट जानकारी नभइरहेका बेला हेलम्बु गाउँपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । जनप्रतिनिधि, वडा सचिव तथा सरोकारवाला कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको सो कार्यक्रम उपलब्धिमूलक भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
दुई दिनसम्म मेलम्चीमा सञ्चालन भएको सो कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि सञ्चालित यो कार्यक्रम निकै उपलब्धिमूलक भएको पालिका उपाध्यक्ष अप्सरा लामिछानेले बताउनुभयो । उहाँले यस प्रकारको कार्यक्रम पहिल्यै गर्नुपर्ने रहेछ भन्ने लागेको भन्दै पहिला त्रुटि भएका विषयमा पनि अब सुधार आउने अपेक्षा रहेको बताउनुभयो । जान्नुपर्ने धेरै विषयवस्तुमा स्पष्ट भएको वडा नं ७ का वडाध्यक्ष निलबहादुर खड्काको प्रतिक्रिया छ । वडा नं ७ का सचिव टोपनाथ घोरासैनीले अस्पष्ट भएका धेरै प्राविधिक विषयमा जानकारी पाइएकाले यो कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । जान्नुपर्ने कानुनी कुराहरुबारे सिक्न पाएको जिल्ला समन्वय समिति सदस्य तारा नेपालीले बताउनुभयो ।
घटना दर्तासम्बन्धी व्यवस्था, घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी अन्तरसम्बन्धका बारेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कार्यक्रम अधिकृत सरस्वती भट्टराईले जानकारी गराउनुभयो । यस कार्यक्रमबाट ऐन, नियम, नीतिमा भएको अस्पष्टतामा सहभागीहरुले प्रस्ट हुने अवसर पाएको बताउनुभयो । विभागका वरिष्ठ सफ्टवेयर विकासकर्ता संजीत पौडेलले घटना दर्ता तथा सामाजिक सुरक्षा पोर्टलबारे जानकारी दिनुभयो । उहाँले यो कार्यक्रमले सफ्वेयर प्रयोगकर्तामा रहेको अन्योल हटी सहजता आउने बताउनुभयो ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, सीवीस र महिला आत्मनिर्भरता केन्द्रको समन्वय तथा ‘वी सोसल मुभमेन्ट’ को सहयोगमा सो कार्यक्रम भएको हो । सञ्जालका फोकल पर्सन सरोज आचार्यले प्राविधिक र कानुनी व्यवस्थाबारे जानकारी दिनुपर्ने मागअनुसार यस्तो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले नागरिकका गुनासा वडास्तरमै समाधान हुने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । सञ्जालले वाग्मती प्रदेशमा सामाजिक सुरक्षाको अवस्था सुदृढ बनाउन बजेट विनियोजनका लागि पहल गरेको, स्थानीय तहमा गुनासो सुनुवाइ संयन्त्र प्रभावकारी बनाउने प्रयास गरिएको पनि आचार्यले बताउनुभयो ।
कार्यक्रमको शुभारम्भमा महिला आत्मनिर्भरता केन्द्रकी अध्यक्ष सञ्चमाया स्याङ्बोले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो । पञ्जीकरण शाखा, हेलम्बुका सोनाम जाङ्बो लामाले हेलम्बु गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम र घटना दर्ताको अवस्थाबारे जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय