मेलम्ची । जरायटार साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्चीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीको शेयर पूँजी बढाउन अनुरोध गर्नुभयो । रासायनिक मलको अभाव देशभर भएकोले यो राष्ट्रिय समस्या रहेको बताउँदै प्रमुख अतिथि तामाङले नगरपालिकालाई आवश्यक मल आपूर्ति गर्न आफूले भरपूर पहल कदमी गर्दै आएको बताउनुभयो । उहाँले किसानले बाँदरबाट दुखकष्ट झेल्नु पर्ने समस्यालाई मध्यनजर गर्दै नियन्त्रण गर्न नगरले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । प्रमुख अतिथि तामाङले सहकारीको माध्यमबाट किसान आत्मनिर्भर भइ आम्दानी बृद्दि गर्न आग्रह गर्नुभयो। कार्यक्रमका बिशेष अतिथि नगरपालिकाकी उपप्रमुख उमा प्रधानले साना किसान कृषि सहकारी भएकाले किसानको हितका लागि काम गर्न आग्रह गनुृभयो ।

उहाँले सहकारीलाई सफलताको शुभकामना ब्यक्त गर्दै आगामि दिनमा किसानहरुको समस्या समाधान गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । विशेष अतिथि प्रधानले नगरपालिका सहकारी सँग हातेमालो गर्दै किसानहरुलाई ब्यबशायीक बनाउने कार्यमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाइले कृषि क्षेत्र बिचौलियाको शोषणबाट माथि उठ्न नसकेको बताउनु भयो ।सहकारी मार्फत समतामूलक समाज निर्माणमा बल पुग्ने उहाँको तर्क रहेको छ ।

कृषिमा अत्यधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन नसकेको उहाँले जिकिर गर्नुभयो । चौलागाईले बिक्री बिनाको उत्पादन व्यवसायिक हिसाबले अर्थ नभएको प्रस्ट्याउनुभयो । उहाँले संगठित भइ उत्पादित बस्तुको गुणात्मक र गुणस्तर दुबै पुरा गर्न सहकारीको आवश्यकता र खाँचो रहेको प्रष्ट्याउनु भयो । कार्यक्रममा वडा अध्यक्ष चन्द्र बहादु। तामाङले सहकारीको आवश्यक मर्म र भावना अनुरूप शेयर सदस्यहरुलाई कृषि, पशु लगायतका व्यवसायमा लाग्न व्यवसायिक योजना साथ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले वडाभित्र धेरै सहकारी दर्ता भएर नियमित संचालन हुन नसक्नुका विविध कारण र आफ्ना अनुभवहरु राख्नुभयो । कार्यक्रममा उज्ज्वल तारा महिला समुहले सन्देश मुलक गित र नाटक प्रस्तुत गरेको थियो भने नगरपालिकामा निर्वाचित जनप्रतिनिधि लगायत अन्य शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । हाल सहकारीमा १ हजार ८३ जना शेयर सदस्य रहेका छन् भने १२९ वटा समुह रहेको छ । सहकारीका अध्यक्ष शिव प्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदनमा संस्थाले गरिरहेका काम आगामी दिनमा गरिने योजनाहरु समेटिएका छन् । २५ लाख ५४ हजार ४ सय शेयर पूजीँ रहेको सहकारीको २ करोड ५२ लाख १६ हजार बचत, ६ करोड ४४ लाख ३२ हजार ऋण र ३ करोड ८८ लाख ९० हजार बाह्य ऋण रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय