पोखरा – कास्कीमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने पक्का भैसकेको छ । बाँकी रहेका चार गाउँपालिकाको विभाजनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सम्भवतः साँझसम्म भागबण्डा मिलाइसक्ने बताइएको छ ।
पार्टीहरूले आफ्नो दाबी नछोडेकै कारण गठबन्धनमा तालमेल बिग्रिएको हो । यहाँका चार मध्ये मादी गाउँपालिकाको प्रमुख माओवादीले मागेको छ । तर कांग्रेस नेताहरूले भने कुनै पनि पालिकाको अध्यक्ष दिन सक्ने अवस्था नरहेको बताएका छन् ।
मादीमा माओवादीको अडान नहटेका कारण कांग्रेसले माओवादीलाई नै गठबन्धनबाट हटाउन खोजेको छ । मादी कांग्रेसले विज्ञप्ति निकालेर माओवादीसँग गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो ।
सभापति यामबहादुर गुरुङले प्रतिस्पर्धाको तयारी गर्न अपिल गरेका छन् । गठबन्धनका लागि माओवादीसहित दलहरूको छलफल निष्कर्षमा पुग्न कठिन भएको भन्दै उनले एक्लै चुनाव लड्ने बताएका हुन् ।