लमजुङ । सडक दुर्घटनामा कमी ल्याउने उद्देश्यले जडान गरिएका अधिकांश ऐना फुटेका छन् । लमजुङको पाउँदी–बेसीसहर सडकखण्डमा पर्ने तीखो मोड (घुम्ती) मा कन्भेक्स मिरर’ राखिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका जवान उज्वल पौडेलका अनुसार सडक डिभिजन कार्यालय दमौलीले लमजुङ अन्तर्गत पर्ने सडकमा ६ वटा ‘कन्भेक्स मिरर’ राखेको हो ।

लमजुङको पाउँदी–बेसीसहर सडकखण्डअन्तर्गत विभिन्न सडक घुम्तीमा राखिएका ६ वटा मिररमध्ये तीनवटा मिरर कामै नलाग्ने गरी टुट्फुट भएका छन् भने बाँकी तीनवटा मिररले पनि काम गरेको छैन । सडकखण्डअन्तर्गत सुन्दरबजार नगरपालिका- ८ मा पर्ने अकलाको डुँड्कुलास्थित सडक घुम्तीमा राखिएको मिररको सबै भाग फुटिसकेको छ । मिररको फलामे स्ट्याण्डमात्रै बाँकी छ ।

त्यसैगरी, यसै वडाभित्र पर्ने भुत्याहा खोला नजिकैको सडक घुम्तीमा रहेको मिरर पनि क्षतिग्रस्त छ । ऐनाको सबै सिसाको भाग फुटेर खेर गएको छ । मिररको पछाडिको प्लाष्टिकको भाग (कभर) र स्ट्याण्डमात्रै बाँकी छ । सडकखण्डमै पर्ने भकुण्डेस्थित सडक घुम्तीमा राखिएको मिरर पनि क्षतिग्रस्त छ । सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै नागरिक जुट्नुपर्ने सुन्दरबजार नगरपालिका–८, का वडाअध्यक्ष कृष्णकान्त अधिकारीले बताए । ‘आफ्नो वडाअन्तर्गत पर्ने विभिन्न सडक घुम्तीमा राखिएका  ऐनामध्ये ३ वटा ऐना काम नलाग्ने गरी टुट्फुट भएको छ,’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयले पनि चासो देखाउनु आवश्यक छ ।’

सडक घुम्तीमा राखिएका मिरर टुट्फुट भएको देख्दा सरोकारवालाहरु दुःख व्यक्त गर्छन् । डुम्रे–बेसीसहर सडकखण्ड अन्तर्गत पर्ने लमजुङका सडकमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) को सुरक्षामा चुनौती देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी प्रमुख विष्णुबहादुर नेपालीका अनुसार सडक घुम्तीमा राखिएका ‘कन्भेक्स मिरर’बाट सवारी चालकलाई परैबाट सवारी आए नआएको थाहा पाउन सहज हुन्छ । यसले गर्दा घुम्तीमा सवारी एक्कासी ठोक्किने सम्भावना रहँदैन ।

सम्भावित सवारी दूर्घटना न्यूनिकरणमा सडक घुम्तीमा राखिएका ‘कन्भेक्स मिरर’ले सघाउ पुर्‍याउँछ । सडक छेउमा राखिएका ‘कन्भेक्स मिरर’को सहायताले घुम्तीमा विपरीत दिशाबाट सवारी आए नआएको टाढैबाट देख्न सकिने  बताउँछन्  । उनी भन्छन्, ‘यसले सम्भावित सवारी दूर्घटनामा कमी ल्याउन सहयोग पुर्‍याउँछ । हामी सबैले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय