सिन्धुपाल्चोक । स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको हुनुपर्दछ । 

२५ शय्यासम्मका अस्पतालका लागि सम्बन्धित स्थानीय तहमा स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । २५ शय्याभन्दा माथिका अस्पतालका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ । सामान्यतया जुत्ता चप्पल पसल व्यवसाय गर्ने व्यापारीहरूले पनि व्यापार अनुमति लिएका हुन्छन् । तर,मेलम्चीमा रहेको विनायक पोलिक्निकले भने एक वर्षदेखि विना अनुमति अवैध ढङ्गले खुलेआम स्वास्थ्य उपचारका नाममा मेलम्चीवासीलाई थाङ्नामा सुताइरहेको छ । २५ शय्यासम्मको स्वास्थ्य पोलिक्निक नगरपालिकामा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था भए पनि विनायक पोलिक्निले भने दिन दुगुना रात चौगुना बनाइरहे पनि यस बारेमा मेलम्चीवासीलाई सुइँकोसमेत छैन । स्वास्थ्य जस्तो गम्भीर विषयमा विनाअनुमती चामल बेचेँ सरी औषधी बेचिरहेको पालिक्निकले दर्ताका लागि नगरपालिकामा एउटा कागज पनि दिएको छैन । यसरी एक वर्षअगाडि पोलिक्निक खुल्नु र विना दर्ता सञ्चालनमा आउनुको कारण खोतल्न सात वर्ष अगाडी पुग्नुपर्ने हुन्छ ।

सात वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीमा चिरञ्जीवी खड्काले आफ्नै नाममा चिरञ्जीवी हस्पिटल खोले । अब स्थानीयवासीले साना तिना उपचारका लागि राजधानी धाउन नपर्ने भन्दै उक्त हस्पिटल मेलम्चीमा खोलियो । हस्पिटल खोलेको २ वर्ष बित्न नपाउँदै हस्पिटल चलाउन नसकेपछि उनले उक्त हस्पिटल बेच्ने निधो गरे र काभ्रेका विष्णु प्याकुरेललाई आफ्नै नाममा रहेको चिरञ्जीवी हस्पिटल बेचे । 

हस्पिटल किनेसँगै उनले चिरञ्जीवी हस्पिटल नाम रहेको होडिङ बोर्ड हटाए र मेलम्ची हस्पिटल राखे । उनले चिरञ्जीवी हस्पिटल प्रा.लिद्वार सञ्चालित उक्त हस्पिटलको कम्पनी पनि नयाँ खोले र मेलम्ची हस्पिटल प्रा.ली राखेर हस्पिटल अगाडी बोर्ड झुन्ड्याए । तर, हस्पिटलको दर्ता अनुमति भने लिएनन् ।  दर्ता प्रक्रियाका लागि नगरपालिकामा एउटा कागजको चिर्कटो फ्याके र चार वर्षसम्म अवैध ढङ्गले हस्पिटल चलाइरहे । गलत गलत रिपोर्ट निकालेको जनगुनासो बढेसँगै चक्रपथ डटकमले मेलम्ची हस्पिटलको बारेमा चिरफार गर्‍यो । सोही चिरफारमा हस्पिटल विना दर्ता सञ्चालनमा रहेको प्रमाण भेटियो । योसँगै विभिन्न सञ्चार माध्यमहरूले हस्पिटल दर्ता नभएको सनसनीपूर्ण समाचार सम्प्रेषण गरे । समाचार प्रभाव र स्थानीयको दबाबमा उत्त हस्पिटल बन्द भयो । उत्त हस्पिटलमाथि फेरी होडिङ बोर्ड मात्र फेरेर विनायक पोलिक्निक राखियो । विनायक पोलिक्निकको होडिङ बोर्ड आएको एक वर्ष बित्न लाग्यो । तर,पोलिक्निकले नगरपालिकामा दर्ता प्रक्रियाका लागि कागजको एउटा पत्रसमेत पेश गरेको छैन । होडिङ बोर्ड फेरेर विनायक पोलिक्निक राखियो र सञ्चालन गरियो । यसरी सामान्य व्यापार गर्ने व्यापारीले समेत व्यवसाय दर्ता गरेका हुन्छन् तर स्वास्थ्यजस्तो गम्भीर विषयमा समेत विनायक पाेलिकि्नकले बेवास्ता गरिरहेको छ । उत्त पोलिक्निक नगरपालिकामा दर्ता नभएको मेलम्ची नगरपालिकाले सूचना मार्फत जानकारी दिएको छ । आजसम्म नगरपालिकामा कुनै पनि कागजात विवरणहरू नआएको मेलम्ची नगरपालिकाका सूचना अधिकारी झपेन्द्रराज खरेलले जानकारी दिए ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अवैध ढङ्गले चलेको हस्पिटलमाथि अनुगमन गरेर कारबाही गर्ने बताए। ‘दर्ता नभए कारबाही हुन्छ । हामी हस्पिटल खारेज गर्छौँ’,उनले भने ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख वेदनिधि खनालले भने नगरपालिकाले नै सो विषयमा अनुगमन गर्ने र कारबाही गर्ने बताए । उनले आफूहरूले कारबाही गर्न नमिल्ने बताए । 

नगरपालिकाकी उपप्रमुख उमा प्रधानले भने आफूलाई यसबारेमा केही पनि थाहा नभएकाे बत्ताइन् । आफू नयाँ नयाँ रहेकाले सबै कुरा थाहा नभएको बताइन् । ‘हामी नयाँ छौँ सबै कुरा थाहा छैन । दर्ता नभएको भए । दर्ता प्रक्रियामा ल्याउँछौँ’,उनले भनिन् ।  

यसरी विना इजाजत हस्पिटल चलिरहनुले स्थानीयहरू सशङ्कित बनेका छन् । नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाको परिच्छेद ३ को दफा १४ को उपदफा २ मा विना अनुमति स्वास्थ्य सेवा सञ्चालन गरेको पाइएमा स्वास्थ्य संस्था तुरुन्त बन्द हुने र हस्पिटलका सञ्चालक भविष्यमा स्वास्थ्य संस्था सञ्चालन अनुमति प्रदान नगर्ने गरी अभिलेखसमेत राखिने कानुनी कारबाही छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय