सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले पाँचवर्षे योजनासहित अगाडि बढेको दाबी गर्नुभएको छ । पदभार ग्रहणदेखि हालसम्म भएका प्रगति तथा गतिविधिबारे जानकारी दिँदै एकैपटक परिवर्तनको आसा नराख्न पनि उहाँले आग्रह गर्नुभयो ।

नतिजा देखिने खालको काम सुरु भइसकेको बताउँदै बिस्तारै परिवर्तन हुँदै जाने उपप्रमुख प्रधानले बताउनुभभयो । बाढी तथा विभिन्न स्थानमा गएको पहिरोलगायत प्राकृतिक प्रकोपका कारण विस्थापित भएकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै स्थापित गर्नु मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो । प्रधानले दलित तथा पछाडि परेकाहरु, एकल महिला, जेष्ठ नागरिक बालबालिका लगायतका माग र आवश्यकताका आधारमा विभिन्न कार्यक्रम सञ्चालन गरी आयस्तर उकास्नका लागि सकेको पहल गर्ने पनि बताउनुभयो ।

उपप्रमुख प्रधानले न्यायिक समितिलाई पूर्णता दिँदै न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेका १७ वटा विवादमध्ये १० फस्र्यौट भएको र बाँकी रहेका सात वटा पनि छिट्टै समाधान गर्ने जानकारी दिनुभयो ।

नगरपालिकामा सबै वडामा न्यायिक सम्पर्क व्यक्ति तोकी न्यायिक सम्पर्क व्यक्तिलाई तालिम प्रदान गरिएको छ । गाउँघरमा हुने सानातिना विवादहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्न नगरका १३ वटै वडामा ५० जना मेलमिलापकर्ताको सूची तयार गरी नगरकार्यपालिकाको बैंठकबाट अनुमोदन गरिएको छ । उपप्रमुखको नेतृत्वमा हुने राजश्व परामर्श समितिको बैठकबाट राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगरसभामार्फत पेश गरी अनुमोदन गरिएको छ ।

अपांगता परिचयपत्र वितरण समितिलाई पूर्णता दिई शारीरिक अपांगता, दृष्टिविहीन, बौद्धिक अपांगतालगायत विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरुलाई अपांगता परिचयपत्र प्रदान गर्नुका साथै घरघरै लगेर समेत कार्ड दिइएको उपप्रमुख प्रधानको हालसम्मको कार्यप्रगतिमा उल्लेख छ । मेलम्ची नगरपालिकालाई सडक मानवमुक्त मनाउने लक्ष्यसहित सडकमा रहेका आठ जना सडक मानवलाई मानव सेवा आश्रमसँग समन्वय गरी पठाइएको छ । नगरपालिकाभित्र रहेका एक सय २३ वटा सडक, सामुदायिक भवन, मन्दिर, विद्यालय, घेराबार, विपद्का योजनालगायत विभिन्न संरचनाहरुको अनुगमन गरी भुक्तानीको लागि सिफारिस गरिएको उपप्रमुखको नियमित कार्यअन्तर्गत रहेका छन् । नगरपालिका मातहत रहेका योजनाहरुको ८० प्रतिशत भुक्तानी भएको उल्लेख गर्दै २० प्रतिशत योजना भुक्तानीको चरणमा रहेको जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका भूमिहीनलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न कार्यक्रम शुभारम्भ गरिएको छ । राष्ट्रिय भूमि आयोग र मेलम्ची नगरपालिका तथा स्थानीय तहबीच कार्यसहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएसँगै कार्यक्रम शुभारम्भ भएको हो । हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहले सो पत्रमा हस्तक्षर गरेका छन् । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सो पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सिन्धुपाल्चोकका भूमिहीन दलित, सुकुम्बासीलाई नियमानुसार जग्गा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको व्यवस्थापन गराउन बाटो खुलेको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष झम्कप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
गत स्थानीय तह निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सशक्तीकरणका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको, नगरपालिकाभित्रका सरकारी तथा गैह्रसरकारी सघंसंस्थामार्फत भएका विभिन्न अन्तरक्रिया कार्यक्रमले नगरभित्र रहेका विभिन्न समस्या तथा आम नागरिकका जिज्ञासाका बारेमा बुझ्ने तथा कुनै समस्याको तत्काल समाधान गर्ने अवसर मिलेको प्रधानले बताउनुभयो ।

नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्देश्यले जनप्रतिनिधिहरुलाई बालमैत्री शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको र अब छिट्टै विभिन्न वडालाई बालमैत्री वडा घोषणा गर्दै जाने उपप्रमुख प्रधानले जानकारी दिनुभयो । मेलम्ची नगर अस्पताल र पिप्ले स्वास्थ्य केन्द्रमा एम्बुलेन्स तथा शववाहनको व्यवस्थापन गरिएको प्रधानको भनाइ छ ।

नगरपालिकामा करदाता शिक्षा तथा उत्कृष्ट करदातालाई सम्मान कार्यक्रम गरिएको छ र सफा, सुन्दर र हराभरा नगरपालिका बनाउने उद्देश्यका साथ सडकपेटी सञ्चालनमा ल्याउने, सडकपेटी अतिक्रमण गरेका घरधनी तथा व्यवसायीहरुलाई मापदण्ड तय गर्न बैठक तथा छलफल सञ्चालन गरी चाडपर्वपछि भत्काउने सहमति भएको उपप्रमुखको सचिवालयबाट जानकारी प्राप्त भएको छ । विभिन्न संरचनाको उद्घाटन, सञ्चालन, अनुगमन तथा नगरपालिकाको नियमित कार्यसञ्चालनलाई व्यवस्थित र छिटोछरितो रुपमा अगाडि बढाइएको प्रधानले बताउनुभयो । जेष्ठ नागरिक सञ्जाल पुनर्गठन, मानव बेचविखन रोकथामका लागि भएका कार्यक्रम उपप्रमुखको हालसम्मको मुख्य उपलब्धिमा उल्लेख छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय