काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल निसानको आयोजनामा एक दिने शिक्षक कार्यशाला सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित कपन भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, कागेश्वरी-मनोहरा नगरपालिका, टोखा नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा अवस्थित संस्थागत विद्यालयबाट लगभग १३० जना प्रधानाध्यापक, विद्यालय संयोजक तथा परीक्षा संयोजकहरूको सहभागिता रहेको थियो ।

विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा आधारित एकीकृत पाठ्यक्रम कक्षा १-३ तथा कक्षा ४-१० को नयाँ पाठ्यक्रम साथै यसले व्यवस्था गरेको परिमार्जित मुल्याङ्कन पद्धतिको बारेमा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख तथा नेपाल सरकारका उपसचिव दण्ड पाणि शर्माले शिक्षा शाखाले आयोजना गर्नुपर्ने कार्यक्रम निसानले आयोजना गरेकोमा आयोजकलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

उहाँले आजको कार्यक्रममा रहेको विद्यालयका प्रतिनिधिहरूको उपस्थितिले शिक्षा शाखालाई यस्ता खाले कार्यक्रम गर्न प्रेरित गरेको र निसानसँगको सहकार्यमा निकट भविष्यमा यस्तैखाले कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै आजको कार्यक्रममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा पाठ्यक्रम अधिकृत अधिकारीले सहभागी शिक्षकहरूलाई पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीको बारेमा रहेका अन्यौलता, जटिलता तथा नयाँ व्यवस्थाको बारेमा स्पष्ट पार्नुभएको थियो ।

सहभागीहरूको तर्फबाट जीवन तारा एकेडेमीका परीक्षा संयोजक सुरेश निरौलाले कार्यशालाले पाठ्यक्रम र परीक्षा सम्बन्धि आफूमा रहेका कैयौं अस्पष्टताहरू हटाउन सहयोग गरेकोले आयोजक निसानप्रति धन्यवाद व्यक्त गर्दै विषय शिक्षकका लागि पनि यस्तो कार्यक्रम गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व गरेका निसानका अध्यक्ष सौर्यनाथ आचार्यले उपस्थित सम्पूर्ण प्रधानाध्यापक, विद्यालय संयोजक तथा परीक्षा संयोजकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निसानले विषय शिक्षक लक्षित तालिम आयोजना गर्ने भन्दै उक्त कार्यक्रममा पनि आफ्नो विद्यालयका विषय शिक्षकलाई सहभागी गराउन सबैमा आह्वानसमेत गर्नुभएको थियो।

उहाँले नगर शिक्षालाई समेत यस्ता कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै आवश्यक परे निसानले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । निसानका उपाध्यक्ष तथा तालिम विभाग प्रमुख युवराज काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा निसानका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार ओमप्रसाद ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय