Site icon Subhatime

सभामुख स्वार्थको पछि लागे : सांसद नेपाल

सिन्धुपाल्चोक । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले स्वार्थको पछि लागेर देशलाई धोका दिएको नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपालले आरोप लगाउनुभएको छ ।

शनिबार नेकपा एमाले चौतारा साँगाचोकगढी वडा नं ४ कुभिण्डेको वडा भेला तथा पार्टीमा स्वागत कार्यक्रममा नेता नेपालले सभामुख सापकोटाले नागरिकता विधेयक सदनमा छलफल नै नगराएको, एमसीसी सदनबाट पास गराएको, अध्यादेशमार्फत एमाले पार्टी फुटाउन भूमिका निर्वाह गरेको र नेपाल चीनबीचको मुख्य नाका तातोपानी पारी नेपाली ब्यापारीहरुको अर्वौँ रकमको सामाग्री अलपत्र रहँदासमेत सामान ल्याउन कुनै पहल नगरी सिन्धुका नागरिकमाथी धोका दिएको बताउनुभयो । ‘पार्टी रोज्न समेत निषेध गरी कुण्ठित कुभिण्डेबासी अब लोकतन्त्रको अनुभूत गर्न पाउने छन्’– नेपालले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता तथा चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व मेयर अमानसिं तामाङसहितका माओवादी नेता कार्यकर्ताहरुलाई स्वागतार्थ आयोजना गरिएको सो कार्यक्रममा भब्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेता तामाङले माओवादीले आफ्नो मुद्दा भूलेर परिवारवादमा सीमित भएको तर्क गर्नुभयो । आगामी निर्वाचनबाट एक्ला एक्लै निर्वाचनमा गए माओवादीको अवस्था छर्लङ्ग हुने र कुभिण्डेमा एमाले पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने तामाङको जिकिर छ । ‘देशको वर्तमान अवस्थामा नेकपा एमाले नै सच्चा कम्युनिष्ट, राष्ट्रवादी र विकासप्रेमी पार्टी हो भन्ने प्रष्ट छ’– तामाङले भन्नुभयो । उहाँले अपराध ढाक्न गठबन्धन गरेको समेत आरोप लगाउनुभयो ।

वडा भेलाले सलन तामाङको अध्यक्ष, सुमन नेपाल उपाध्यक्ष, राजकुमार दाहाल सचिव रहेको तीस सदस्यको वडा स्तरीय राष्ट्रिय युवा संघ समेत घोषणा गरेको छ ।

कार्यक्रममा स्थानीय निर्वाचन २०७९ मा सो वडाका उम्मेदवार तथा एमाले चौतारा साँगाचोकगढी ४ मा अध्यक्ष राजु श्रेष्ठले अब छिटै कुभिण्डेमा माओवादीलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताउनुभयो । ‘कुभिण्डेका जनताले उन्मुक्ति खोजेका छन्, अब त्यो वातावरण एमालेले तय गरेको छ, माओवादीले अब धावा बोल्न सक्दैन ।’– श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषद सदस्य कृष्णराज श्रेष्ठ, बागमती प्रदेस सदस्य होमनारायण श्रेष्ठ, टपिन्द्र तिमल्सिना, इन्द्र नेपाल, बालकुमारी सापकोटा, नगर कमिटी अध्यक्ष खिलवहादुर श्रेष्ठ, युवा नेता रघुसिं तामाङ, छत्र तामाङलगायत तीन सय बढीको उपस्थिति रहेको थियो ।

Exit mobile version