सिन्धुपाल्चोक। निर्वाचन नजिकिँदै गर्दा दलहरू आफ्नो आफ्नो उम्मेदवार छनोट र सिफारिसमा व्यस्त छन् । सिन्धुपाल्चोकमा पनि जिल्लामा सक्रिय राजनीतिक दलहरू भेला,सम्मेलन र कार्यक्रममा व्यस्त छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’मा अनिल कुमार तामाङ (बुद्ध) सहित ८ जना उम्मेदवार सिफारिस गरिएको छ । आधुनिक कृषि ,शिक्षा,स्वास्थ्यमार्फत जनताको जीवनशैली परिवर्तन गर्न आफूले उम्मेदवारी दिएको तामाङले बताउनुभयो ।

सिन्धु काँग्रेसमा युवाहरूको माझमा लोकप्रिय नेताको रूपमा परिचित तामाङले विभिन्न समयमा परेको विपद्हरूको समयमा आर्थिक भौतिक तथा मानवीय सहयोग गर्दै आउनुभएको छ । मेलम्ची, हेलम्बुको बाढी पहिरो, कोरोनालगायत विविध समयमा सुख दुखमा साथ सहयोग गर्दै आउनुभएका तामाङले आफूसँग जनताको जीवनशैली परिवर्तन गर्ने आफूमा क्षमता रहेको दाबी गर्नुभयो । युवा व्यवसायी तामाङले पार्टीको विभिन्न सङ्गठनमा रहेर कुशलतापूर्वक काम गरिसक्नु भएको छ । आम नागरिकहरूले दैनिक रूपमा भोग्ने समस्याको पहिचान गरेर निराकरण गर्नकै लागि आफूले उम्मेदवारी दिएको तामाङले बताउनुभयो ।

पार्टीको विभिन्न तह र तप्कामा रहेर तामाङले निर्वाचनको समयमा पार्टीका उम्मेदवारहरूलाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तामाङको भूमिका महत्त्वपूर्ण रहेको काङ्ग्रेसकै नेताहरूले बताउँदै आएका छन् । काँग्रेसले तामाङसँगै विष्णुविक्रम थापा, टङ्क कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभडेल, देवप्रसाद बानियाँ, भूपेन्द्र थापा, उद्धव बानियाँ लगायतलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय