लेखम् की नलेखम् ।
वियोग वेदनाबारे लेखौँ की ?
विगतका शब्द विहीन भावहरूबारे लेखम् ?
त्यो निरुत्साहित पललाई शब्दमा उतारौँ की ?
वियोगका नमिठा क्षणलाई शब्दमा व्यक्त गरौँ ।
बस म आज लेख्छु व्याकरण नमिलेका शब्दहरू ।
अनि केही निरुत्साहित वाक्यहरू !
कहाँबाट सुरु गरौँ ?
बाबा शब्द जहाँ प्रेम, मुस्कान, इज्जत, खुसी आदि सबै समेटिएको छ। आज करिब तेह्र वर्ष भयो बा हाम्रो प्यारो नभई भगवानको प्यारो भएको। मैले टुहुरो नामक उपनाम पाएको । घरमा कालो मडारिएको बादल लागेको । हामी सहारा विहीन भएको । दसैँ तिहार सकिए लगतै घरमा बाली भित्र्याउने बेला भएको थियो । यहाँ बाली भित्र्याउने भन्दा पनि झन् हामी लथालिङ्ग,छरप्रष्ट एका एक टिप्न नमिल्ने गरी उछिट्टिएको दिन । सायद यो दिन निकै कष्टपूर्ण थियो। हजुरको भौतिक शरीर एकातिर,अनि अर्को तिर रोइ कराइ गरिरहेका दाजु,दिदी,आमा अनि म । जस्तो कि गजुर बिनाको मन्दिर जस्ता अधूरा, अपुरा, नुन विनाको तरकारी जस्ता स्वादहीन हामी । खुसी लुटिएका हामी । हाम्रो आँखामा आँसु ,मनमा पीडा र निराशा बाहेक केही पनि रहेन ।
सम्झिन्छु २०६६/०८/१४ एकाबिहानै हामीले लगाएको पहिरन बदलियो । जेठो दाजुको कपाल मुडियो अनि मेरो र माइलो दाजुको कपाल अन्त्येष्टि स्थल मै मुड्ने कुरा गरियो । अनि केही बेरमा सबै मलामीले बाबाको भौतिक शरीरको पछि पछि हामीलाई हिँडाएर बाको भौतिक शरीरलाई मसानघाटमा पुर्याए । त्यो चिसो बगरमा मेरा बाको भौतिक शरीरलाई बिसाए । हामी तीन दाजुभाइलाई वरिपरि बसाए र मलामीहरू चिता सजाउन लागे । सजाइएको चितामा बाको भौतिक शरीरलाई खाक पार्नका निम्ति बाको मुर्दालाई चितामा राखेर जलाउने कुरा गरियो । मुखमा आगो दिने बेला दाजुहरू बेहोसी हुनुभयो । आँखाबाट बलिन्धारा आँसु बगाउन थाल्नुभयो । अनि अर्को तिर म ठुलो स्वरमा बालाई किन जलाएको भन्दै रुँदै छट्पटिन थालेँ । बालाई आफ्नै आँखा अगाडि कसले जलाउन सक्थ्यो र ? हामी बेहोसी थियौँ तर के गर्नु प्रकृतिको (हामी हिन्दु धर्मालम्वीहरुको) नियम नै रहेछ। अनि केही छिनमा बाको भौतिक शरीर पनि हामी सामु रहेन। बाँकी रहेको माहिलो दाजुको र मेरो कपाल मुडिन थालियो साथ साथै जुठो पर्ने भाइ बन्धुहरूको पनि कपाल मुडियो र केही छिनमा सबै जना घरतिर फर्कियौँ। उकालो बाटो खाली खुट्टा हिँड्न नसक्दा मलाई बोकेर घरतिर ल्याइयो दाजुहरू भने आफै हिँडेर आउनु भयो।
हामी घरमा पुग्यौँ । आमालाई पनि सेतो लुगामा सजाइएको थियो । सायद सर्वस्व लुटिनु यसैलाई भन्छ होला। दिदीको रक्षक र हामी तीन भाइको खुसी लुटिनु यसैलाई भन्छ होला। हाम्रो लागि यहाँ भन्दा ठुलो बज्रपात के नै हुन सक्थ्यो र ? मेरो व्रतबन्ध नभएको हुँदा मेरो र भाउजूको भान्सा एक, ठुलो दाजु र माहिलो दाजुको भान्सा एक ,आमाको भान्सा एक अनि दिदीको भान्सा एक एक गरी हाम्रा भान्सा पनि अलग अलग हुन थाले । खाना पनि दिनको एक पटक मात्र खानु पर्ने रहेछ। बाबाको पुण्य तिथिसम्म त घरमा सबै जना आफन्त, इष्टमित्र मात्र थिए । पुण्य तिथि समाप्त भए लगत्तै सबै जना आ-आफ्नो घर तिर लागे । यहाँ आफ्ना परिवारका सदस्यबाहेक अरू कोही हुँदैन भनेको यही त होला ? लगतै बाको वर्ष दिनको पुण्य तिथि पनि सकियो । तर,हाम्रो, दुःख, पीडा, बिस्मात, भने ताजै रहिरहे ।
सिन्दूर ,चुरा,पोते अनि रङ्गिन पोसाक लुटिएकी मेरी आमाको आँखाबाट वर्षातको भेल झैँ आँखाबाट बगेको त्यो आँसुको भेल भने कहिल्यै रोकिएन । जब हामी दुःखित हुन्थ्यौँ । मलिन अनुहार लगाएकी मेरी आमाले भन्नुहुन्थ्यो ‘‘तिमीहरूको म छु मेरो पो को छ र बाबु’’अनि सान्त्वना दिनलाई मेरो जवाफ हुन्थ्यो ‘‘बा नभए पनि अब हामी छौँ’’ बितिसकेका कुरा सम्झेर मन चिस्याउनु हुँदैन । अनि पछाडि फर्केर हेर्नु बिलकुल हुँदैन हुँदै हुँदैन । ती खोटहरू पर्नुपर्छ भनेर सान्त्वना दिने म त्यो बेला कलिलो आठ वर्षको अबोध बालक अहिले वयस्क भइसक्दा पनि आफैँ गन्तव्य विहीन यात्री जस्तो छु ।
विद्यालयमा जब दिउँसो नास्ता खाने समय हुन्थ्यो साथीभाइका बाबाले उनीहरूलाई पैसा दिँदा र सँगै हात समातेर हिँड्दा बाबा त्यो किनेर ल्याइदिनु भन्दा बालाई सम्झिँदै ढोका बन्द गरेर रुने म अहिले नत आमालाई खुसी दिन सकेको छु न त बाबाको सपना पुरा गर्न सकेको छु । तर प्रयास जारी छ।
हरेक मुस्किलको सारथि बा गुमाएपछि तमाम खुसीहरू गुम्दा रहेछन् । बाले परिकल्पना गरेको छोराछोरीको भविष्य र छोराछोरी आफैले बाटो पहिल्याउँदै सोचेको भविष्यमा कयौँ गुणा फरक हुँदो रहेछ । यहाँ मार्ग निर्देशक बा बिना प्रगतिपथका लागि अगाडि सारेका पाइलाहरू पनि कहिले कतै रातभरि मस्त निन्द्रामा देखेका सपना जस्तै हुँदा रहेछन् । सायद हिँड्दै गर्दा थामी हिँड्ने हात बाल्यकालमै गुमाएको भएर होला जहिले आफू अधुरो,अपुरो , खाली खाली लाग्ने । साँच्चै भन्दा परिवारको मुख्य व्यक्ति बा गुमाउनु र मौरीले आफ्नो रानो गुमाउनु एउटै होला ।
दसैँ आउँछ जान्छ,तिहार आउँछ जान्छ खासै अप्ठ्यारो लाग्दैन । तर,कुसे औँसी आउँदा भने मन गह्रुङ्गो हुन्छ । किनकि सबै साथी भाइले ‘ह्याप्पी फादर्श डे’ भनेर फेसबुकका भित्तामा पोस्ट्याएको देख्दा । मोबाइल अफ गर्छु अनि भक्कानिएको मन समाल्छु ……।
हरेक वर्ष कुशे औँसी (बाबाको मुख हेर्ने दिन) आउँछ तर बा कहिल्यै आउनु हुँदैन । किन होला एक छिनलाई भए पनि बा आउनु नि भन्ने खालका कुरा सोच्छु….। तर,सबै कुरा कल्पनामा मात्र सीमित हुँदा रहेछन् ।
एक तर्फ मलाई कुशे औँसी आएको खुब मन पर्छ । टेको लगाइएको मनकाे टेको फुकाली दिन्छु अनि एकान्तमा आँसु भेल वर्षन थाल्छ। मैले देखाउन नसकेका पीडाहरू, चुहाउन नसकेका आँसुहरू बेहिसाब झर्ने गर्छन् । अनि अर्को तर्फ यो कुसे औँसी विरक्त लाग्छ जसले विस्मृतिमा हराइसकेका स्मृतिहरू ताजा गराइदिन्छ । भुलिसकेका हैन भुल्न आँटेका कुराहरू आँखै अगाडि ल्याइदिन्छ।
जब परलोक गइसकेका मेरा बा सम्झिन्छु अनि
मलाई साँच्चै जान्न मन लाग्छ । पीडा के हो ? खुसी के हो ? वियोग के हो ? आँसु अनि रोधन के हो ? तड्पिनु के हो ? सम्झिनु के हो ? العاب على النت भौतिक सुख के हो ? आत्म सन्तुष्टि के हो ? मलाई जान्न मन छ । असङ्ख्य सवालका जवाफहरू ! كيف تلعب القمار चाहना, कल्पना, बाध्यता र विकल्प के हो ? साँच्चै बोकी नसक्ने गरी, समालिन नसक्ने गरी जान्न मन छ ।
साँच्चै खोज्दै जाँदा सबै प्रश्नको जवाफमा मैले बाबाहेक केही भेटाउन सकिन । म खोज्छु सबथोक तर बा शब्दमा म ब्रह्माण्ड भेटाउँछु । अनि आजसम्म म बन्नमा मेरी आमाले कुनै पनि कुराको अभावमा अड्किन दिनुभएन । शैक्षिक योग्यताका आधारमा प्रौढ शिक्षा हासिल गरेकी मेरी आमा साँच्चै अरू सबथोकमा मास्टर डिग्री हासिल गरेजस्तै हुनुहुन्छ । अभावको दबाबलाई आफैँ भित्र मौन राखेर तेरो लागि के गर्नुपर्ने हो बाबु म गर्छु भन्नुहुन्छ। अभावको सिर्जना हुन दिनुहुन्न । यद्यपि मेरी आमा सर्वज्ञानी हुनुहुन्छ। र,आजसम्मको म बन्नमा मेरो दिदी अनि दाजुहरूको पनि उतिकै भूमिका रहेको छ। सायद म घरको कान्छो भएको भएर होला सबैको प्यारो भएको । यदि म घरको जेठो सन्तान भएको भए अभाव मात्र नभई हरेक कठिन परिस्थितिको सामना गर्नु पर्थ्यो होला । तर, मेरी आमा, मेरो दिदी र मेरा दाजुहरूले गर्दा कुनै त्यस्ता अप्ठ्यारो महसुस गर्नुपरेको छैन । तर पनि यदा कदा बाबा नहुँदा न्यास्रो लाग्दो रहेछ।
बैरी शत्रुहरूलाई दुःख र उदासी पन मन पर्दो रहेछ भन्ने थाहा पाइसकेपछि उदासी पनबाट टाढा रहन म दुनियाँलाई मुस्कान देखाउन खोज्छु । अनि मुस्कानको तारिफमा वा कति खुसी,कति शान्त ,कति सुखी भन्ने खालका प्रतिक्रिया आउने गर्छन् । यहाँ मनका भावनाहरू बुझ्दिने को नै छ र ? जो छन् बाहिरी कुराहरूको मात्र आलोचना र समालोचना मात्र गर्छन् । बा परलोक जाँदा बाको भौतिक शरीरको आडैमा रोई कराइ गरी बेहोसी भएका हामीलाई बा नभए पनि हामी छौँ भन्नेहरू अचेल कता होलान् ? के गर्दै होलान् ? सायद उति बेला हाम्रो मन थमाउनलाई भनेका होलान् ! لعبة 21 सोध्छन् कहिले कतै के गर्दै छस् भनेर ?
प्रश्न कति सजिलो छ तर उत्तर भने आजसम्म दिएका जवाफ मध्यकै गाह्रो !
खुलेर प्रश्नको जवाफ दिन मन लाग्छ तर सक्दिन ।
मनमनै भन्छु ।
यहाँ न ओठमा हाँसो छ,न आँखामा आँसु,
न हारको शोक,न जितको उत्सव,
न फुर्सदमा छु,न हतार मा छु,
चल्दै छ जिन्दगी आफ्नै गतिमा,
म केही नबोली मौन बस्दिन्छु।
परिवारले आशा भराेसा गरेको व्यक्ति मै हो। मैले आमाले चाहेको सुन्दर भविष्य अपुरो छोड्नु हुँदैन । दाजु दिदीले गरेको आशालाई मार्नु हुँदैन । बाले चाहनु भएको सुन्दर र उज्ज्वल भविष्यबारे सोच्दै फेरी मेरो दैनिकी सुरु गर्छु। ‘भावपूर्ण श्रद्धासुमन’ बाबा अर्को जुनी पनि हजुरकै हुन पाऊँ र यो जुनीमा पुरा गर्न नसकेका सपना पुरा गर्न पाउँ ।