नेपाल र नेपालीले मनाउने चाडपर्वहरू अनगिन्ती छन् । यो हाम्रो देशको चिनारी हो र देशको पहिचान पनि हो । नेपाली समुदायमा विभिन्न जातजाति, भाषाभाषी छन् । हिमाल,पहाड, तराई सबै ठाउँमा आ–आफ्ना मूल्य–मान्यता,रीति-रिवाज अनुसारका चाडपर्व मनाउने गरिन्छ । जसले गर्दा चाडपर्वलाई घरपरिवार,साथीभाइ तथा इष्टमित्रहरूमा भेटघाट गर्ने, मीठो–मसिनो बनाएर खाने, खबर आदानप्रदान गर्ने, चेली–माइतीको सम्बन्ध सुमधुर बनाई आपसी भलाकुसारी गर्ने माध्यमका रूपमा लिने गरिन्छ । 

हिन्दु धर्ममा तीजको महत्त्व विशेष किसिमको रहेको छ । जसअनुसार महिलाले हरितालिका तीजको अघिल्लो दिन दूधको परिकारलाई दरका रूपमा रातिको समयमा खाने र भोलिपल्ट आफ्नो श्रीमानको दीर्घायुको कामना गरेर उक्त दिनमा सक्ने महिलाहरूले पानी पनि नखाई व्रत बस्ने चलन छ । बेलुकी जब घाम अस्ताएपछि आफ्नो पतिको हातले पानी, फलफूल र अन्य मेवा मिष्टान्न खाएपछि व्रत समापन गर्ने प्रचलन रहिआएकोमा आजको दिनसम्म आइपुग्दा यी सबै नीति–नियम,संस्कृति लोप हुँदै गएका छन् र वास्तविक तीजको नाममा अनावश्यक रवाफ, तडकभडक फैलाउने कार्य भइरहेको छ।

कुन चाडपर्व के–कस्तो किसिमले मनाइनुपर्ने हो भन्ने कुरा आजको परिवेशमा पर्व मनाउने मानिसहरूलाई पनि थाहा छैन ।

सामाजिक सञ्जालमा कोही कतै भाइरल भए भने तिनको नक्कल गर्दै आफू पनि त्यस्तै भाइरल बन्न अनेकौँ हरकत गर्नेहरू टिकटकमा धेरै भेटिन्छन्। भारतीय लुङ्गी डान्सका बारेमा त सुनिएको थियो तर यति बेला पेटीकोट डान्स टिकटकेहरूबीच खुबै चर्चामा रहेको छ । तीज विशेषका बहानामा भड्किलो संस्कृतिले हाम्रो समाजलाई कहाँ पुर्‍याउँछ ? यति बेला गम्भीर प्रश्न उठेको छ । 

‘‘के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी।

के गरौँ के गरौँ लौ सङ्गी तँ भन्, तँलाई पो भनेँ त अरूलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै’’

हालसालै सार्वजनिक भएको यो गीतको एउटा दृश्यमा युवतीले पेटीकोट लगाएर नृत्य गरेकी छन्। गीत सार्वजनिक हुनासाथ यो दृश्य टिकटकमा भाइरल बनेको रहेछ। केटीका लागि पेटीकोट डान्सको गीत भाइरल भयो । अब केटाका लागि ‘कन्दनी डान्स’ को गीत बनाउने त होइनन् रु अब शिवरात्रिमा पुरुषले पेन्ट र सुरुवालको बदला कन्दनी लगाई मुखमा खरानी दलेको कन्दनी गीतको डान्स बजारमा ल्याउने त होइनन् रु प्रश्न चिन्ह खडा भएको छ ।

हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो। यसपालि पनि अछुतो रहेन। तीजको अवसरमा बनाइएको ‘पापाकी परी’ नामक उल्लेखित गीतलाई टिकटकेहरुले ‘पेटीकोट डान्स’ को नाम दिएर भाइरल बनाए । ढुङ्गेधारामा पेटीकोट लगाएका युवतीहरूले नाचगान गरेको अभिनय भएका कारण यस गीतलाई ‘पेटीकोट डान्स’ को नाम दिईदाे रहेछ ।

गीतका केही शब्द र दृश्यलाई लिएर चर्को विरोध भएपछि गीतको भिडियो सम्पादन गरेर सुधारिएको भिडियो अपलोड गरिएको रहेछ। तर त्यसअघिकै भिडियोलाई डाउनलोड गरी टिकटक लगायत युट्युबमा छ्यापछ्याप्ती पारिएकाले टिकटकेहरूलाई भिडियो बनाउन र जिस्किन रोकेको छैन। यति बेला टिकटकेहरूबीच ‘‘पेटीकोट डान्स’’ मा भिडियो बनाई भाइरल हुने प्रतिस्पर्धा चलेको रहेछ।

नेपाली चेलीबेटीहरूले मनाउने तीज पर्वलाई उदाहरण लिँदै गर्दा पनि वास्तविक तीजको महत्त्व के कुरामा छ ? सोका बारेमा अहिले मनाइने तौरतरिकाले तीज पर्वको महत्त्व भन्दा पनि विकृति–विसङ्गतिलाई बढवा दिँदै गइरहेको देखिन्छ । तीज आउनुभन्दा एक महिनाअघिदेखि नै तीज मनाउने बहानामा आयातित संस्कृतिलाई प्रोत्साहन,रमाइलो,मोज मस्ती,जाँडरक्सी,माछा मासु खाएर अनावश्यक तडकभडक गरी तीज मनाउने गरेको पाइन्छ । जसले गर्दा हाम्रो सांस्कृतिक पर्वको वास्तविक पहिचान हराउने खतरा बढेर गएको छ । भड्कँदो संस्कृतिको भाइरसले गाँजेको नेपाली समाजमा तीजका नाउँमा अनेक तरहका नाँचले पनि हाम्रो संस्कृतिमाथि संकट पैदा भएको छ ।

संस्कृति हाम्रो पहिचान हो । यस्ता विशेष पर्वहरूलाई बचाउनु आजको आवश्यकता पनि हो । सरकारले पनि हाम्रो संस्कृति हाम्रा अमूल्य गहना हुन भन्ने बुझ्न जरुरी छ भने हामी आम सर्वसाधारणले पनि संस्कृतिको मान–मर्यादामा रहेर चाडपर्व मनाऔँ, जसले गर्दा भविष्यमा आउने पुस्ताले पनि वास्तविक चाडपर्व देख्न र अनुभव गर्न सकुन्, साथै पुस्तौंपुस्तासम्म हाम्रो रीतिरिवाजलाई हस्तान्तरण गर्न सकियोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय