सिन्धुपाल्चोक । तामाङ समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोककै दुर्गम ठाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका महिला हाटबजार सञ्चालन गर्न सक्रिय भएका छन् । स्थानीय उत्पादनलाई हाटबजारमा बिक्री गरी मनग्य आम्दानी हुन थालेपछि उनीहरू उत्साहित छन् भने आत्मनिर्भर पनि बन्दै गएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने नेपालको घुम्नलायक एक सय गन्तव्यभित्र पर्ने पाँचपोखरीसम्म पुग्ने बाटोमै पर्छ दुर्गम गाउँ भोताङको यार्साबस्ती । मुख्य बाटोको छेउमै बनाइएको फलामे ट्रस्टको घरमा यहाँका महिला प्रत्येक शनिबार हाटबजार चलाउँछन् । स्थानीयलगायत वरपरका व्यवसायी आवश्यक सामग्री खरिद गर्न हाटबजारसम्म आउने गरेका छन् ।

नौ सयभन्दा बढी घर रहेको यो बस्तीका महिला काउली, बन्दा, खुर्सानी, गोलभेँडा तथा जङ्गलको निउरोजस्ता तरकारी, फलफूललगायत आफ्ना घरेलु उत्पादन बिक्री गर्न हाटबजारसम्म आउने गरेको स्थानीय कार्चेन तामाङ बताउनुहुन्छ । मकै कोदो जस्ता परम्परागत खेती भन्दा तरकारी खेति गर्दा आर्थिक उपार्जनमा सहज भएको र घर खर्चका लागि एक सयमात्र कमाउँदा पनि खुसी लाग्नुका साथै हाटबजारमा आउन निकै रमाइलो लाग्ने अर्का स्थानीय माइली तामाङ बताउनुहुन्छ ।

परम्परागत खेतीमात्रै गर्दै आएका भोताङवासीले हाटबजार चलाएपछि गाउँमा आवश्यक हुने सबै प्रकारका तरकारीलगायतको उत्पादन थालेका छन् । वर्षौँ बाँझो रहेको जमिनमा महिलाले फरक–फरक उत्पादन गर्ने गर्छन् भने आफूसँग नभएको किन्ने र भएको सामग्री बेच्ने बानी बसालेका छन् । स्थानीय महिलाको सक्रियतापछि सञ्चालित हाटबजारले आर्थिक उन्नतिमा समेत टेवा पुगेकोे हाटबजार सञ्चालनमा सक्रिय स्थानीय कमला तामाङले बताउनुभयो । केही उत्पादन गर्ने बानी नभएको तर अहिले उत्पादन गर्दा धरै चिज फलेको उहाँ बताउनुहुन्छ ।

स्थानीयको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्न सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत गाउँपालिकाले पनि सहयोग गरेको छ । गाउँमा उत्पादित वस्तुलाई बिक्री गर्ने परम्परा बसेको छ । त्यसले गर्दा दुर्गम ठाउँका महिलालाई उद्यमशील बनाएको छ भने अन्य ठाउँका मानिसलाई पनि अभिप्रेरित गरेको पाँचपोखरी थाङपाल–३ का अध्यक्ष ङिमाछिरिङ तामाङ बताउनुहुन्छ । स्थानीय उत्पादनको बजारीकरणमा वडाले पनि सहयोग गरेको उहाँको भनाइ छ ।

दुर्गम ठाउँमा हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा महिला आर्थिकरूपले सवल र आत्मनिर्भर मात्रै होइन उनीहरुलाई मेहेनती र उद्यमशील बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय