सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका इन्द्रावती गाउँपालिकाका उत्तम विक्रम थापा लगायतमाथि सामाजिक सञ्जालमा भइरहेको अनर्गल प्रचार र ब्यत्तिगत चरित्र हत्या नगर्न इन्द्रावती गाउँपालिकाले आग्रह गरेको छ । लोकतन्त्रमा आफूले इच्छाएको दल रोज्न पाउने सबैको अधिकार रहेको भन्दै व्यक्तिगत चरित्र हत्या नगर्न आग्रह गरेको हो । 

बिहीबार एमाले इन्द्रावती गाउँकमिटीका अध्यक्ष शशिनाथ आचार्यले एक विज्ञप्ति जारी गर्नुहुँदै पार्टीको शिष्ट र मर्यादित आग्रह र अनुरोधलाई बेवास्ता गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी गाली बेइज्जती गर्ने र चरित्र हत्यामा उत्रिए साइबर कानुन लगायत प्रचलित नेपालको कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

‘नेपालको संविधान र कानुनको पालना गर्दै आफूलाई मन परेको दलको झन्डा बोकेर हिँड्ने र दल अदल बदल गर्ने स्वतन्त्रता सबैलाई छ । यति कुरा नबुझेर नेकपा एमालेमा समाहित भएकै कारणले व्यक्तिगत चरित्रहत्यामा उत्रिने, तथानाम गाली गर्ने, बेइज्जती गर्ने जस्ता अवाञ्छित कार्य नगर्न नगराउन सम्बद्ध सबैमा आग्रह गर्दछु । आफ्नो पार्टीमा रहँदासम्म राम्रो, अर्को पार्टीमा लाग्नासाथ पतित र काम नलाग्ने देख्नु पूर्वाग्रह र दृष्टि दोष हो । पूर्वाग्रही सोचले मानिसलाई कहीँ पनि पुर्‍याउँदैन । व्यक्तिगत र सार्वजनिक जीवनमा आँच पुग्ने खालका गतिविधि कोही कसैले पनि नगरौँ नगराऔँ’,विज्ञप्तिमा भनिएको छ । 

आज अलग भएकाहरू भोलि फेरी एकै मोर्चामा भेट हुन सक्ने भन्दै त्यति बेला आफूले आज बोलेका कुराले आफै लज्जित हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय