नवीन पाण्डे
लोकतान्त्रिक अभ्यास भनेको जनता र राज्य दुवैका लागि चुनौतीपूर्ण अभ्यास हो । यसमा सफलता पाए सुनौलो अवसर पनि हो । समग्र रूपान्तरणका लागि सरकार र जनता दुवैले संयुक्त रूपमा अघि बढ्नुपर्ने बेलामा जनताले सरकारलाई एक्लो कारकका रूपमा हेर्ने र राजनीतिलाई व्यङ्ग्य हान्ने, दोष थुपार्ने कुनो बनाएका छन् ।
सामाजिक रूपान्तरणमा ‘जनता’ को देन देखिँदैन बरु पश्चिमी जगतका उदाहरण दिएर वेश्यावृत्तिको वैधानिकता, नारीवादको नारामा नाङ्गो शरीर लिएर हिँड्नुको औचित्य देखाउन ताईनतुईका तर्क दिने प्रवृत्ति पनि यदाकदा मौलाएको छ । सत्य तथ्य नबुझी सवारी दुर्घटनामा घटनास्थलका ठुला सवारीका चालकलाई छियाछिया हुने गरी पिटिन्छ । कुइनोले घोचेको अवस्थामा सिरिन्ज हान्यो भन्दै हकारिन्छ, चुटिन्छ । आशाको पात्र भनिएका युवा राजनीतिकर्मी समेत सस्तो लोकप्रियताका लागि कुतर्क दिँदै ढुङ्गा मुढा हानाहान गर्दै जनताको करले किनेको सरकारी गाडी, भवन भत्काउने जस्ता उपद्रो गरेको पाइन्छ । राजनीतिक कार्यकर्ता बढी भएको हाम्रो देशमा चाकडी चाप्लुसी गरेर जीविकोपार्जन गर्ने प्रवृत्ति छ नै । अझ त्यसमाथि घुस खानेलाई बहादुर, नखानेलाई लाटाका रूपमा लिने मूर्खतायुक्त मानसिकताले जरो गाडेको छ ।
त्यसै गरी आर्थिक रूपान्तरण खोज्नेद्वारा कृषि पेसालाई हेपिन्छ । कृषिको अर्थ दुर्गम ठाउँको गरिबले गर्ने तल्लो स्तरको कामका रूपमा लिइन्छ । श्रम गर्नुलाई घिन मानिन्छ । टिलिक्क जुत्ता टल्काएर निजी गाडीमा अफिस जानुलाई सफलताको मापदण्ड मानिन्छ । बिहान फेसबुकमा ‘विदेशी दलाल नेताहरूले देश बेचे’ भन्ने युवा दिउँसो कन्सल्टेन्सीमा ‘आईईएल्टीएस’, टोफेलका लागि दौडधुप गरिरहेका हुन्छन् । अभिभावक पनि बिहानको पत्रिका हेर्दै देशको अवस्थामा दिक्क मानेर ‘उफ् ! कोही त आइ’दे हुन्थ्यो देश बनाउन !’ भन्छन् तर आफ्नो सन्तानलाई चाहिँ १२ कक्षा सक्दा नसक्दै एयरपोर्टमा खादा ओढाएर विदेश पठाएको फोटो फेसबुकमा झुन्ड्याउन गर्व गर्छन् । अर्कोतर्फ, जागिर खानु नै सफल जीवन हो भन्ने कट्टर मानसिकता भएकाहरू व्यापार, उद्यमशीलता आदिमा लागेर सन्तानले केही फरक गर्न खोज्दा ‘यो झल्लु भयो’ भन्छन् । फरक स्वव्यवसाय गर्नेहरू समर्थनबाट पनि वञ्चित हुन्छन्।
देशमा राजनीति सेवा नभई व्यवसायको धेयले अगाडी बढेको पाइन्छ। राजनीति गर्नेहरू कुनै दल र पार्टीका नभई कुनै व्यक्ती विशेषको झन्डा बोक्ने, गुणगान गाउने र सो व्यक्तिले राजनीतिक पदमा वा संसदीय फाँटको जिम्मेवारी पाएपछि सोर्सफोर्स मै जागिर खाने, ठेक्का पट्टा मिलाउन दौडधुप गर्ने प्रणालीको विकास भएको छ। आज केही युवाहरू जो देशमै कृषिसँग सम्बन्धित पेसा तथा व्यवसाय गरिरहेका छन् । ती र त्यस्ता युवा वर्गलाई समुदाय अनि राज्यले तल्लो स्तरको व्यवहार गर्ने गरेकै कारण कृषिप्रधान देश नेपालमा कृषि उत्पादनहरू वर्षे नै घट्दो र आयातित बढ्दो रहेको पाइन्छ।
लामो समय देखि कृषि पेसामा आबद्ध रहेका व्यवसायीहरू आज पनि उचित बजार पाइरहेका छैनन् । त्यति मात्र नभएर समय मल, बिउ बिजन तथा कृषि उपकरणहरू पाउन कोसे ढुङ्गा साबित हुने गरेको छ। राज्यको विभिन्न तहको सरकार किसान र कृषिको नाममा वर्षे नै करोडौँ अनुदान र सहयोगको बजार राख्ने गरेको त छ तर आम किसान र कृषि पेसासँग आबद्ध व्यक्तिहरू त्यो बजारमा त्यो अनुदान र सहयोग किन्न सक्दैनन्। कुनै व्यापारी कृषकहरूलाई केही थान कागज र फोटोको भरमा बजारमा पाइने अनुदान र सहयोग किन्छन् र किसानको नाम लिएर चिनिन्छन्।
(नवीन पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकको सह-सचिव हुनुहुन्छ)