मनिश कोइराला
झुल्केको घामले चमक्क चम्किएको स्वर्ण गजुर,खेलिरहेका बाँदरको बथान,पखेटा फरफराउँदै उडिरहेको सेता शान्तिका अग्रदूतहरू,सलल बगेकी बागमती । आहा ! कति निश्चल अनि कति सुन्दर पशुपतिनाथ । स्वर्गीय अनुभूतिको आभास ।
हामी बसबाट गौशाला प्रहरी अगाडि ओर्लेर पशुपतिनाथको यात्राको लागि अगाडि बढिरहेका थियौ । हामी अर्थात् म,श्याम,सुजन अनि निश्चल । बाटोमा मान्छेको निकै चाप थियो । ठेलमठेल गर्दै बल्ल बल्ल पशुपतिनाथको पश्चिम गेट पुग्यौँ । त्यहाँ एउटा कुनामा फुल बेच्ने एउटी आमा हुनुहुँदो रहेछ । हामीले त्यहाँबाट पूजाको सामाग्री किन्यौ र जुत्ता त्यहीँ राख्न दियौँ । हामी खाली खुट्टै मन्दिर दर्शन गर्न गयौँ । साउने सोमबार परेको भएर होला आज निकै मान्छेहरू आए । प्रहरीहरु कुराकानी गर्दै थिए । हुन पनि हो मैले सोचेको भन्दा निकै भिड थियो आज । मुख्यद्वारबाट भित्र छिरेपछि ठुलो साडेँको मूर्ति रहेछ । म अचम्ममा परेँ अहिलेसम्म मैले त्यति ठुलो मूर्ति देखेको थिइन। करिब दुई घण्टा लाइनमा बसेपछि हाम्रो दर्शन गर्ने पालो आयो ।
म अत्यन्त प्रसन्न थिएँ । पहिलो पटक पशुपतिनाथको दर्शन गर्न पाउने भए भनेर । तर,दर्शन त बाहिरबाट मात्रै गर्न पाउने रहेछ । भित्र त पुजारी मात्रै । हामीले पुजारीलाई पूजा सामग्री भएको ठहर दियौँ । सामाग्री भित्र लिएर नरिवल फुटार्इ हामीलाई फिर्ता दिनु भयो । त्यो प्रसाद झोलामा हालेर हामी मन्दिर परिक्रमा गर्न लाग्यौँ । हामी सिडी उक्लेर वासुकि मन्दिर दर्शन गर्न गयौँ । दर्शन गरी सकेपछि हामी पूर्व गेट नजिकै पुग्यौँ । त्यहाँबाट घाटको दृश्य देखिँदो रहेछ । पछि घाटको निजकै गएर हेरौँला नि ? भन्न थाले केटाहरू । त्यहाँबाट अगाडि भैरवको मूर्ति रहेछ । हामी त्यहाँ पनि लाइन बस्यौ एकैछिन । भित्र अँध्यारो रहेछ प्याट्ट पड्केको आवाज आयो के रहिछ भनेर हेरेको त एउटा बुढी आमा रहिछिन् । भक्तहरूलाई निहुरेर ढोग भन्दै ढाड पठ्काउँदि रहिछिन् । केटाहरू मुसुमुसु हाँसी रहेका थिए ‘के भयो’ मैले सोधेँ । रामले त्या हेर्न भन्यो । पुलुक्क हेरे हाँसो रोक्न सकिन गलल हाँसे । मान्छेहरू भैरव लिङ्गको पानी खाँदा रहेछन् । मलाई अचम्म लाग्यो म अचम्मित हुदैँ थिएँ । सबै मान्छेहरूले हामी तर्फ नै नजर लगाउँदै थिएँ । मेरो पनि ढोग्ने पालो आयो मैले नि निहुरेर ढोगे बुढी आमाले मलाई नि आशीर्वाद दिइन् । समयको अभाव भएकाले अन्यत्र कतै नडुली हामी चन्दन लगाउन आयौँ । त्यहाँ दान पेटिकामा सबैले विस विस रुपैयाँ हालिदियौँ ।
तत्कालै आकाश कालो मुस्लो धुम्म भएर आयो । ठुल्ठुला थोपाका साथ पानी बर्सियो हामी हतार हतार गर्दै शङ्कराचार्य मठमा गएर बस्यौँ । कसले सोचेको थियो र टन्टलापुर घाम लगिरहेको अवस्थामा पानी पर्छ भनेर ? अनि छाता ल्याउने सोच पनि आएन । पानी निकै ठुलो परेकाले चोक सम्म भिज्दै गएर गाडी चढ्ने आँट पनि आएन । करिब दुई घण्टा पछि रोकियो तर चिसो हावाले हानि रहेको थियो । त्यतिकैमा म कहिले चिया नपिउने मान्छेलाई नि दूध चियाको झझल्को लाग्यो । केटाहरू चिया पिउन जाऊँ मैले भने । केटाहरूले नि मेरो कुरामा समर्थन जनाए। मठबाट बाहिर निक्लिएर रामे दाजुको चिया पसलमा पुग्यौँ। ‘रामे दाजु चार कप चिया बनाउनुस् तँ, मैले भने । ‘खल्लो चिया मात्रै’ निश्चलले भनयो । ‘तिम्रोमा धेरै चिनी हाल्दिउँला नि’,रामे दाजुले ठट्टा गर्दै भने । उसको खल्लोको मतलब चिनी थिएन अगाडि राखेको दुनोट थियो मैले बुझिसकेको थिएँ। दाजु चार ओटा दुनोट नि दिनुस् त । त्यति खाइसके पछि हामी त्यहाँबाट घाट तर्फ लाग्यौँ। घाटको दृश्य अत्यन्तै पिडादायी थियो । भर्खरै लास ल्याएर ब्रह्मनालमा डङ्ग लडाइ रहेको थियो। लोग्ने मान्छे रहेछ एस्सो हेर्दा बिस्तारमा सुतिरहेको मान्छे ल्याएको जस्तो हट्टा कट्टा खाइलाग्दो ज्यान गरेको रहेछ। श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको थाहा पाएर लोग्नेले आत्महत्या गर्यो भनेर कानेखुसी गर्दै थिए मलामी आएका मान्छेहरू । कस्तो विडम्बना छ हाम्रो समाजको पुरुषले केही तलमाथि गर्ने बित्तिकै नारिलाई नै दोष देखाउने ? मैले मनभित्र आफैसँग कुरा गरे । तर, बाहिर व्यक्त गरिन । मलाई उसकी श्रीमतीले गलत गर्या जस्तो एक रति पनि लागेको थिएन । किनकि उनी त कुना एक छेउमा बसेर डाँको छाडेर रोइरहेको थिइन्।
ती महिलाका नयनबाट झरेको आँसु वर्षा याममा खहरे खोला उर्लिएका झैँ देखिन्थे । मलाई त्यो दृश्यले अत्यन्तै भावुक बनायो । केटाहरूले गङ्गा आरती हेर्न जाउँ भनेर भने । हामी गङ्गा आरती हेर्न तर्फ लाग्यौ ।
आरती हेर्न प्राय युवायुवतीहरू आएका थिए। सबै आ आफ्ना जोडी हल बाँधेर आएका थिए तर हामी बुङ्गा केटाहरू मात्रै। कुखुराको पोथी देख्दा पनि मन चञ्चल हुने उमेरका हामी झन् त्यहाँ त परि नै परि । स्वर्गै रित्याएर अप्सराहरू आरती हेर्न आएकी जस्तो देखिन्थ्यो। मनलाइ नियन्त्रण गरेर ध्यान पूर्वक आरती हेर्यौँ। करिब रातिको आठ बजेको थियो । अब त जान पर्छ भनेर बिहानकै सुन्दर मार्ग तर्फ लाग्यौँ । बिहानको भन्दा नि रमणीय वातावरण थियो । सुनसान अधेँरि रात सरर हावाको वेग आहा ! हातमा हात मिलाएर हिड्नि कोही भएको भए झन् कहिल्यै उज्यालो नहोस् र तै बाटो हिडि राखौँ जस्तो थियो। मनमा अनेकौँ कल्पनाहरू जागृत भएका थिए । केटाहरू आफ्नै परि सँग व्यस्त देखिन्थे । म मात्रै आफ्नो कल्पना मा हराएको थिए । त्यत्तिकैमा बस चढ्ने ठाउँमा आइपुग्यो र मेरा कल्पनाहरू सपना मै सीमित भए ।