काठमाडौं । बञ्चरेडाँडामा आज विहानैबाट सत्ता गठबन्धन सम्बद्घ राजनीतिक दलका कार्यकर्ताले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन्।

उनीहरुले महानगर स्थानीयको माग प्रति गैर–जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न र दमन रोक्न माग गरेका छन् । उनले माग पुरा नभए स्थिति मुठभेडतर्फ जाने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंबाट गएका कुनैपनि गाडीले फोहोर फाल्न सकेका छैनन् ।

अहिले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाको क्षेत्रमा सडकमा युवाहरु जम्मा भएका छन् भने गुलेली बोकेर डाँडा–डाँडामा महिला र वृद्धवृद्धाहरु गएर बसेका छन् ।

काठमाडौं महानगरपालिकाले हिजो सोमबार बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको थियो । २ सय ५० भन्दा धेरै प्रहरी परिचलान गरेर २ सय ३ गाडी फोहोर विसर्जन भएको थियो । काठमाडौं महानगरपालिका अनुसार ककनी गाउँपालिकाको कागते गाउँभन्दा माथि फोहोर बोकेर गएका गाडीहरु लाइन लगाएर राखिएको छ ।

काठमाडौं परिसर, नुवाकोट र धादिङबाट प्रहरी आएपछि मात्रै महानगरको फोहोरको गाडी एकैचोटी बञ्चरेडाँडा लैजाने तयारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरले आज २ सय ५० गाडी फोहोर लोड गरेको छ । जुन गाडीहरु कागतेसम्म पुग्दैछन् ।

जिल्ला नुवाकोटका अनुसार ४०–५० जना प्रहरी बञ्चरेडाँडामै रहेका छन् । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले आवश्यक परे मात्रै ब्याकअप फोर्स खटाउने तयारी भएको बताउनुभयो । 
फोहोरमाथि सत्ता गठबन्धनकै नेता कार्यकर्ताले राजनीति गरेसँग यो ज्यादतीको चौतर्फी विरोध भइरहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय