सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधैँ तयार रहेको बताउनुभएको छ । 

नगर प्रमुख तामाङले अहिले नगरपालिकाको प्राय सबै वडाहरूमा पहिरो गइरहेको, नदी तटीय क्षेत्रहरूमा नदीले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको दाबी गर्नुभयो । सोमबार वडा नम्बर २ निबुगाउँमा गएको पहिरोको स्थलगत अवलोकन गर्दै प्रमुख तामाङले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

अवलोकनकै लागि पुग्नुभएकी उपप्रमुख उमा प्रधानले पनि नगरका कमजोर भूभागमा अहिले धमाधम पहिरो गइरहेको भन्दै जोखिममा रहेका बस्ती संरक्षण र स्थानान्तरणमा नगरले पीडितहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले अझै पनि पानी परिरहेको बताउँदै जोखिमयुक्त स्थानमा नबस्न समेत आग्रह गर्नुभयो । उपप्रमुख प्रधानले स्थानीय सरकारले मात्र काम गर्न नसक्ने भन्दै सङ्घ र प्रदेश सरकारले पनि यस विषयमा चासोका साथ हेर्नुपर्नेमा जोड दिनुभयो ।

अवलोकनमा वडा नम्बर २का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले पीडितहरूको माग र तत्कालीन समस्याका बारेमा प्रमुख र उपप्रमुख लाई जानकारी गराउनुभएको थियो । २० गते बेलुका गएको पहिरोले निबुगाउँका १६ घर उच्च जोखिममा रहेको छ भने जोखिममा रहेकाहरू छिमेकीकोमा आश्रय लिएर बस्न परेको छ । अवलोकन पछि बाटो खुलाउनका लागि काम सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय