दुई चार वर्ष अघि नै सडक बनिसक्थ्यो सायद । मध्य पहाडी (पुष्पलाल) लोकमार्ग त्यही भीर हुँदै इन्द्रावती तार्ने रे भनेरै पर्खिरहेको थियो सिङ्गो गाउँ । अलिक अप्ठ्यारो भीर, खर्चको हिसाबले पनि थोरैतिनु खर्चमा बाटो छेड्न सकिने अवस्था थिएन । 

आसै आसमा झन्डै ५ हिउँद बिते । मध्य पहाडीले ट्र्याक खोलेन । नजिकै भीरको मुखसम्म फराकिलो पक्की सडक बन्दा पनि मध्य पहाडीले त्यति पहरोमा चैँ गाउँलेहरू वारपार गर्न अलिक सजिलो बनाई दिऊँ भन्ने ठानेन । त्यसअघि धेरै पटक लोकमार्ग र स्थानीयरुपमा काम गरिरहेका साइड सुपरभाइजर तथा ठेकेदारहरूसँग कुरा नभएको होइन । उनीहरू विभिन्न बहानामा पन्छिरहे । हुन त मध्य पहाडी कतिसम्म गैर जिम्मेवार छ भने स्थानीयका परम्परागत कुलो, खानेपानीका धारा, गोरेटो बाटो, पशु चौपाया ओहोर दोहोर गराउने बाटो, लास बोकेर मलामी हिँड्ने बाटो, विभिन्न ठाउँको देउराली र चौतारीहरू भत्काएर प्रयोगमै नआउने बनाउँछ । अलपत्र छाडेर हिँड्छ । लौन बनाइदेऊ भन्दा अनेकौँ बहानामा टार्छ ।

गाउँलेहरू वडा अध्यक्षलाई कराउँछन् । विगत लामो समयदेखि मेरो गाउँ र मेरो गाउँपालिका क्षेत्रमा परम्परागत जीवनशैली र आवागमनमा निकै सङ्कट पारेको छ मध्यपहाडि लोकमार्गले । जतिफेर भने पनि उसको घैँटोमा घाम लाग्दैन । घरछेउ राष्ट्रिय गौरवको मेची महाकाली छुने राजमार्ग हुनु सुखद् हो तर उसको गलत रवैयाले निकै अप्ठ्यारो थियो उक्त पहरोमा बारबार गर्न । पैतालो सम्म अडिने खुड्किला थिए । तापनि वारिपारि, ओल्लो गाउँ, पल्लो गाउँका मानिसहरू त्यहीँबाट ओहोरदोहोर गर्थे । विकल्प खासै थिएन । म आफैँ पनि ६०/६५ केजी सम्मका भारी बोकेर कयौँ पटक त्यहीँबाट उक्लिने ओर्लिने गरेको छु । स्कुले बालबालिकाहरू, बृद्धबृद्धा, बिरामी र अशक्तहरू पनि त्यहीँबाट आउने जाने गर्थे । तापनि बाटो बनेन, गाउँलेहरू मध्यपहाडिकै आसमा बसे । अर्थात् भनौँ गाउँको सामर्थ्यले पहरो छेड्ने आँट आएन । 

सोही कान्लोले अलिक माथिबाट केही वर्ष पहिले स्थानीय १ माझी समुदायका युवालाई निलिसकेको थियो । जाँड खाएर लडेको रे भनेर लाचारी प्रकट गरियो, सजिलो बाटो बनाऊँ भन्ने चेत खुलेन ।

२०७९ श्रावण ९ गते गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा इन्द्रावती गाउँपालिकाको कार्यालयमा थिएँ । कार्यक्रम मैझारो हुन बाँकी नै थियो । ठ्याक्कै समय याद भएन, घडीमा अन्दाजी ३.४५ बजेको थियो । मोबाइलको भाइब्रेसनका कारण फोन रिसिभ गर्न बाहिर निस्किएँ । बेसी इन्द्रावती किनारमा बस्ने दाजु पारसले एकैश्वरमा भने-…‘‘बाहुनेपाटी पुलबारी मदले भीरबाट लडेर सानु बच्चा र आमा अहिले भर्खरै  इन्द्रावती नदीमा खसेर बगायो’’,म के गर्ने के नगर्ने अन्योलमा परेँ । संयोगले इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर साप सहित हामी सो कार्यक्रममा सँगै थियौँ । तत्कालै इन्स्पेक्टर सापसँग सल्लाह गरेँ । उहाँले बाहुनेपाटी,मेलम्ची र भीमटारका प्रहरी टोलीलाई नदी किनारमा मुभ गराउनुभयाे । केही समयपछि लास भेटिएको खबर आयो । नदीमा बग्दाबग्दैको लास स्थानीय माझी साथीहरूले पौडिएर खोलाबाट बाहिर निकालेको रहेछ । प्रहरी टोली सहित हामी घटनास्थल तर्फ लाग्यौँ । झमझम पानी पर्दै थियो । चिप्लो बाटो बल्लतल्ल झर्यौं नदी किनारमा । 

घटनामा मृत्यु भएको व्यक्तिको पहिचान भैसकेको थियो । सम्बन्धित परिवारलाई खबर गर्ने पो कसरी रु चौतारा साँगाचोकगढी नपा वडा नं ७ सानुसिरुबारी बस्ने प्रिय साथी महेश धितालको बुवा तथा लेखापढी व्यवसायी दाजु सुदर्शन धितालको जीवन सङ्गिनीको मृत्यु भएको थियो । मानव अधिकार कर्मी दाजु नातिबाबु धिताललाई अप्ठ्यारो मानिमानी फोन गरेर घटनाको जानकारी गराएँ र सम्बन्धित परिवारमा खबर गरी तत्कालै घटनास्थल तर्फ आउन आग्रह गरेँ । 

नवलपुरको प्रहरी टोली र म घटनाको केही समयपछि लास रहेको ठाउँमा पुग्यौँ । उक्त ठाउँमा सशस्त्रको उद्धार टोलीका साथै ठुलो भीड जम्मा भैसकेको थियो । पारी फटकेश्वरी डिलमा समेत ठुलो सङ्ख्यामा मानिसहरू जम्मा भएका थिए । ५ वर्षको नाबालक विशेष चालिसेको लास इन्द्रावती किनारमा लडिरहेको थियो । टाउकाको खप्पर फक्लक्कै थियो । पुर्पुरोमा गहिरो चोट थियो । शरीरका विभिन्न भागमा चोटैचोट । हेर्दै बीभत्स थियो दृश्य । बच्चाको आफन्त र अभिभावक छेउमा बसेर रोइरहेका थिए । म आफैँ पनि भक्कानिएँ । त्यहाँदेखि केही  तल मृतक वालककी ठुलीआमा गोमादेवी धितालको लास थियो बगरमा ।

आफन्तहरू आइसक्नु भएको थिएन । बेलुकी करिब ७ बजे आइपुग्नु भयो साथी महेश सहित मृतकका आफन्त र गाउँका दाजुभाइहरू । मातृ वियोगमा परेका साथी महेश लगायतको भाव विह्वल रुवाइले केही क्षण सबैलाई स्तब्ध बनायो । केही बेरमा स्थितिलाई अलिक समालेपछि लास वल्टाईपल्टाई लास जाँच मुचुल्का खडा गरी रातको करिब ८ बजे शव वाहनमा ठुलीआमा छोराको लास राखेर पोस्टमार्टमका लागि मेलम्ची लगियो । आफ्नै अघिल्तिर दोस्रो सन्तान दुर्घटनामा समाप्त भएको दृश्य देख्नुपर्‍यो विशेष चालिसेकी आमाले ।

धेरैले धेरै थरी कुरा गरे त्यहाँ । कसैले बाटो प्रति आक्रोश पोखे । कसैले धेरै वर्षदेखि जोखिमयुक्त यात्रा गरेका र भीरबाट खसेर होनहार युवाको ज्यान गएको वर्षौँ हुँदा समेत सुरक्षित बाटो नबनाउने गाउँ र यहाँका बासिन्दा प्रति रिस देखाए । कसैले यस्तो अवस्था हेरेर मात्रै बस्ने जनप्रतिनिधि भन्दै मैप्रति पनि आक्रोश पोखे । सबैमा झैँ मेरो मनमा दुख र पीडा त थियो नै तर पनि जसले जसप्रति घृणा देखाए पनि चुपचाप सुन्नुको विकल्प थिएन त्यहाँ । अब कसरी सुरक्षित बाटो बनाउने होला ?  चिन्ता थियो मनमा । कतिपय शुभचिन्तकहरू फोन गरेर तत्काल एक्सनमा उत्रिन र बाटो बनाउन सल्लाह दिँदै हुनुहुन्थ्यो भने कतिपय आफैँ लगानी गरिदिएर बाटो बनाइदिन्छु पनि भन्दै हुनुहुन्थ्यो ।

लास उठाएर त्यहाँबाट हिँडेपछि गाउँपालिका अध्यक्ष झम्क नेपालसँग सम्पर्कमा जोडिएँ । भोलिपल्ट बिहानै उहाँ घटनास्थल अवलोकनमा आउने सल्लाह भयो । मैँले वडाका केही जनप्रतिनिधि सहित मेरो गाउँ र वडाका थुप्रै सामाजिक व्यक्तित्वहरू, मिडियाकर्मी समेतलाई उपस्थितिका लागि खबर गरेँ । १० गते बिहानै घटनास्थलमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय, गाउँपालिकाको इन्जिनियर समेतको प्राविधिक टोली अन्य निवर्तमान र वर्तमान जनप्रतिनिधि, पत्रकार र वारिपारिका स्थानीय गरी झन्डै सयको सङ्ख्यामा जम्मा भयौँ । भित्तैसम्म ठुलीआमा भतिजालाई निल्ने इन्द्रावती कर्कश आवाजमा सुसेल्दै थियो । लाग्थ्यो उसले होस गर गाउँलेहरू मैँले अझै धेरैलाई निल्नु छ भनेर फलाक्दै छ । उसको कर्कश आवाजकैबीच विकल्प को छलफलमा थियौँ हामी ।

धेरैले धेरै थरी तर्क गरे । कसैले यो बाटै बन्द गर्नुपर्छ भने । कसैले मान्छेले खनेर अलिक सजिलोसँग आवतजावत गर्ने गरी अस्थायी बाटो बनाउने कुरा गरे, मेसिन प्रयोग गरेर भीरमा दखल पार्‍यो भने थप दुःख दिन्छ, त्यसैले मेसिन लाउन हुन्न भन्ने मत पनि निस्कियो । कसैले मध्यपहाडीमा गएर कुरा गर्नुपर्छ र छिटो ट्र्याक ओपन गर्न लगाउँनुपर्छ भने । मेरो मनमा छेउपट्टि बलियोसँग फलामे रेलिङ हाल्ने र सिँढी बनाउने बिचार निस्कियो( ताकी त्यही रेलिङ समाएर मान्छेहरू हिँड्न सकुन् । अन्तमा परबाट एक्स्काभेटरले भित्तोमा ट्र्याक खोल्ने र भीरको तल्लो भित्तोबाट झोलुङ्गे पुलको मुखसम्मै रेलिङ हाल्ने बिचारमा धेरैको मत मिल्यो । त्यही अनुसार प्राविधिक टोलीले नाप्न सुरु गर्‍यो । 

मादलेश्वरी वासिङ प्लान्टका भाइ ईश्वर माझीसँग कुरा भयो उद्योगमा रहेको एक्स्काभेटरले बाटो खन्ने तेल पालिकाले हाल्ने भनेर । तेलको व्यवस्था गरे २ दिनका लागि निःशुल्क रूपमा मेसिन पाउने वचनबद्धता भयो । सोही अनुसार भोलिपल्टैबाट ट्र्याक खन्न सुरु गरियो । पालिका अध्यक्ष सहित हामी मध्यपछाडि लोकमार्ग पुग्यौँ । बाटोको ठेक्का लाग्न अझै केही समय लाग्ने देखियो । इन्द्रावती नदीमा बनिरहेको मध्य पहाडीको पुलको ठेकेदारले पुलको दायाँबायाँ ५ सय मिटर बाटो बनाउने दायित्व अझैसम्म पूरा गरेको छैन । पुल आयोजनामा पुगेर कुराकानी भयो । सम्बन्धित पक्षले बनाउन लगाउने प्रतिबद्धता जनायो तर कहिले बनाउने अझै  निश्चित छैन ।

झमझम परिरहेको लगातारको झरी । ठाउँ ठाउँमा गएको पहिरोले वैकल्पिक बाटाहरू सबै अवरुद्ध थिए । भीरको मुनि वर्षाको बिच मेसिनले बाटो खन्नु चानचुने चुनौती थिएन । घरीघरी माथिबाट झरिरहेको पहिरोले मेसिनलाई भाग्न विवश तुल्याइरहेको थियो । घरी भाग्दै त घरी हान्दै आँटका साथ मेसिनका अपरेटर राजु माझी अघि बढ्दै थिए । काम गर्दै जाने क्रममा पुलसम्मै फराकिलो बाटो मेसिनले नै बनाउने सल्लाह भयो । पालिका नेतृत्व, कर्मचारी प्रशासन र मेसिनका सम्बद्ध साथीहरू बिच उत्साहपूर्ण सहमति बन्यो । राजुको ४ दिनको लगातारको मेहनत र गाउँपालिकाको साथ अनि स्थानीयको हौसला पछि उक्त ठाउँमा २ जनाको ज्यान जाने बीभत्स घटना भएको १२ दिनपछि हिजोबाट सहज रूपमा आवागमन गर्न सकिने गरी सडक ट्र्याक बाहुनेपाटी पुलसम्मै बनाइएको छ । ट्र्याक बेनपछिको प्रतिक्रिया धेरैले सकारात्मक ढङ्गमा व्यक्त गर्नुभएको छ भने कतिपयले जनजाति मर्दा रक्सीले मातेर लडेको भनी बेमतलबी बनेको र बाटो बन्न क्षेत्री बाहुन नै मर्नुपर्ने रहेछ पनि भन्नुभएको सुनिन्छ । 

कसैले आफ्नै गाउँको मान्छे वडाध्यक्ष भएकोले बाटो बन्यो पनि भनेको सुनेको छु । जसले जे भनोस्, निकै चुनौती मोलेर बाटो बन्यो । यसैमा खुसी छु । यश क्षणमा दिवङ्गत आत्म द्वय प्रति तेह्रौँ दिनको दुखद क्षणमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,शोकाकुल दुवैतर्फका सपरिवारमा गहिरो समवेदना प्रकट गर्दछु । मृतकको काजक्रियाको खर्च बापत जनही १५ हजार उपलब्ध गराउने गरी इन्द्रावती गाउँकार्यपालिकाले निर्णय गरेको जानकारी गराउँछु । गाउँपालिको नेतृत्व र सिङ्गो कर्मचारी प्रशासन लगायत बाटो निर्माणमा चुनौती मोल्ने सबैप्रति वडाध्यक्षका हैसियतले धन्यवाद व्यक्त गर्दछु । यस्तो दुखद घटना कहीँ कतै नहोस्, बेलैमा सचेत बन्न सबैलाई आव्हान गर्दछु धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय