काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् ।

‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने ।

प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो ।

मंगलबार ओलीले उक्त फैसलबारे असन्तुष्टि जनाउँदै इतिहासले मूल्यांकन गर्ने बताएका हुन् ।उनले अदालतजस्तो सबैले विश्वास गर्ने संस्थाको विश्वासमा कमी आउन नहुने बताए । ‘जनताले भरोसा गर्ने संस्थाहरुबीच सन्तुलन नबिग्रोस्, मेरो चिन्ता लोकतन्त्रमाथि छ, लोकतान्त्रिक प्रणालीमा संस्थाहरु आआफ्नो मर्यादा र ठाउँमा बसेर काम गर्नुपर्छ’ ओलीले भने ।

शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश फेरि लोकतान्त्रिक प्रणाली छाडेर गठबन्धनको सिद्धान्तमा लागेको पनि उनले बताए । ‘यसले विकासको अभियानलाई यसले ड्राइभ गर्न सक्दैन’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय