काठमाडौं । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)ले यस बर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ । 

जनही पचास पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई  पुरस्कृत गर्ने निर्णय इन्जा निर्णायक मण्डलले सोमबार गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी गराउनुभएको छ  । 
एक दशक अगाडिदेखि सप्तरीको स्थानीय रेडियो हुदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको विकास, संरक्षण र प्रबद्र्धन एवं मधेशका   समाचार प्रवाहमा उल्लेख्य योगदान पु¥याउदै आउनुभएकी युवा पत्रकार दीपा कर्णले  ग्रामीण जीवन र तराईमा  लैगिक समानताका लागि  पत्रकारिता मार्फत आफनो क्रियाशीलता बढाउदै जानुभएको छ । 

त्यसैगरी  ग्रामीण आवाजलाई उजागर गर्ने उद्धेश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२ मेघाहर्जले आफनो प्रसारण मार्फत त्यहाँका स्थानीय नागरिकहरुलाई सुसूचित गर्ने र उनीहरुका आवाजलाई जस्ताको तस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ । ०७२ सालको बिनाशकारी भूकम्प र गत बर्ष  इन्द्रावती र मेलम्ची खोलामा आएको  बिनाशकारी बाढीले रेडियोका प्रसारण यन्त्र र महत्वपुर्ण कागजातहरुमा क्षति पु¥याएपनि त्यस रेडियो तत्काल अस्थायी संरचनाको स्टुडियोमार्फत प्रसारण गरेर भएपनि नागरिकको आवाज र सूचनाको हकलाई उजागर गर्ने दायित्वबाट पछि परेन । यसले गर्दा सामुदायिक रेडियोप्रतिको जनविश्वास अझ मजबुत बनाएको छ ।  इञ्जाले पहिलोपटक संस्थागत र मातृभाषी पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

त्यसैगरी एक लाख राशी सहितको  इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने  निर्णय भएको छ । यस्तै पचास , पचास हजार राशी सहितको इन्जा बौद्धिक पत्रकारिता पुरस्कार भने यसपटक बरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिभुवन विश्वविद्यालय   आमसंचार तथा पत्रकारिता विभागका उपप्राध्यापक देबराज अर्याललाई प्रदान गर्ने निर्णायक मण्डलले यस अघि नै घोषणा गरिसकेको छ ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाको पाँचौ वार्षिकोत्सव एवं इन्जा डे को अवसरमा यहि साउन १४ गते  संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शनिबार आयोजना गरिने बिशेष कार्यक्रममा पुरस्कार वितरणसँगै वरिष्ठ पत्रकार हरि लम्साल , अग्रज पत्रकार गोपाल शर्मा र संचारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई सम्मान गरिने भएको अध्यक्ष पन्तले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

*जनता समाचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय