सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य परीक्षण सुरु गरेको छ । 

बिहीबार गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङ र बडा अध्यक्ष तेजबहादुर पराजुलीले बलेफी वडा नम्बर ६को वडा कार्यालयबाट एकसाथ सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य परीक्षण सहित औषधी वितरणको सुरुवात गर्नुभएको हो । 

‘गाउँपालिका, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी पाएका बैक, स्थानीय सुरक्षा निकाय, वडाको स्वास्थ्य क्षेत्रलगायतको समन्वय र उपस्थितिमा दुवै सेवा एकसाथ सुरु गरिएको छ’– बलेफी ६ का अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ता लिनको लागि अव दिनभरि हिँडेर लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ । 

मृत्यु भैसकेकाहरुको लगत कट्टा नगर्ने तथा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको जनगुनासो आएपछि स्थानीय सरकारले बैक मार्फत भत्ता वितरण गर्ने गरेको थियो । बैकले लामो समय भत्ताको रकम वितरण नगर्ने, सीमित दिनमा मात्र वितरण गर्ने, गाउँबाट बजारका बैक सम्म ज्येष्ठ नागरिकहरू आवतजावत गर्न कठिनाइ भएका कारण गाउँमै सेवा प्रवाह गरेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

‘निर्वाचन अघि आफूहरु निर्वाचित भएमा घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने, ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण र औषधी उपचार सहयोग गर्ने प्रतिबद्धता अनुसारको कामको सुरुवात गरिएको हो ।’ अध्यक्ष पराजुलीले भन्नुभयो । 

बलेफी गाउँपालिकाको अध्यक्ष तामाङले ज्येष्ठ नागरिकलाई गाउँमै सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात बुधवार बलेफी ४ को आदमाराकी १ सय ३ वर्षीय विष्णुमाया खत्रीबाट सुरुवात गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय