काठमाडौँ । सिमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं नायक नवल खड्काले  नेपाल-भारतबिचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताउनुभएको छ । 

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका लागि खुला सिमाना घातक भएको बताउनुभयो । 

‘‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौँ । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौँ,’ खड्काले भन्नुभयो ।

मुलुकमा देशभक्ति भावनामा बनेका फिल्म रक्षात्मक स्थितिमा पुगेको भन्दै खड्काले बजारिया फिल्मको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताउनुभयो । हलिउड र बलिउडले फिल्मको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उहाँले आरोप लगाउनुभयो ।
 
नेपाल  पत्रकार महासङ्घ अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव नागरिकसामु आएको र यसको निर्णय जनताले गर्ने बताउनुभयो । राष्ट्रियताको प्रवर्द्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको अध्यक्ष पोखरेलले बताउनुभयो। सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने उहाँको भनाई थियो । 

अनेरास्ववियू अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा सङ्गठनको समर्थन हुने बताउनुभयो । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ,’ उनले भनिन्, ‘राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा अघि बढ्न पनि नागरिकलाई सचेत तुल्याउनुपर्ने भन्दै उहाँले एकजुट भए मात्र यस्तो अभियान सम्भव हुने बताउनुभयो।

अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा सङ्गठनको साथ हुने बताउनुभयो । बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताउनुभयो । ‘काँडेतार अभियान दल विशेषको मुद्दा होइन, देशको मुद्दा हो । जसरी सत्ता र प्रतिपक्षी मिलेर चुच्चे नक्सा पारित गरियो । सीमाको मुद्दामा पनि सबै जना एकजुट हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यी मुद्दामा नेविसंघ सहकार्य गर्न तयार छ ।’
अखिल ९क्रान्तिकारी० का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

सत्यकला राईको कार्यकारी निर्माण रहेको फिल्ममा नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा,रोमियन लिम्बू  लगायतको मुख्य भूमिका छ । फिल्मलाई चाँडै प्रदर्शनको तयारी छ । फिल्मले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्दालाई उठाएको छ ।

खड्काले यसअघि माया बसेछ,क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय