
सिन्धुपाल्चोक । ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत हस्तकला सम्बन्धी सीप विकास तालिम सञ्चालन गरिरहेको पाँचपोखरी थाङ्पाल गाउँपालिका लघु उद्यमीहरूले आफूले उत्पादन गरेको सामानको बजारीकरणका लागि विभिन्न नगरपालिका,गाउँपालिकाका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् ।
हस्तकला सम्बन्धी सिप विकास तालिम लिएर बास निगालो सम्बन्धी कार्य गरिरहेका पाँचपोखरी थाङपाल गाउँपालिका वडा न. २ बरुवा डालेका लघु उद्यमीहरूले बिहीबार चौतारा साँगाचोकगढी नगरपालिका,मेलम्ची नगरपालिका,इन्द्रावती गाउँपालिका,हेलम्बु गाउँपालिकाका मेयर,उपमेयर,अध्यक्ष उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतहरूसँग आफूहरूले उत्पादन गरेको सामानहरूलाई बजारीकरण गर्ने सम्बन्धमा अन्तरक्रिया गरेका हुन् ।
पाँचपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेल,उद्यम विकास शाखाका प्रमुख दीपेन्द्र पौडेल,सहजकर्ता समीर दोङ,लघु उद्यमी सोनाम दोर्जे तामाङ,रोशन तामाङ लगायत अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
लघु उद्यमीहरूले उत्पादन गरेका उत्पादनहरूलाई बजारीकरण गर्ने र पालिकाको छुट्टै पहिचान बनाउने हिसाबले आफूहरूले अन्तरक्रिया गरेको पाँचपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेलले जानकारी दिनुभयो ।
