सिन्धुपाल्चोक । नमुना युवा नगर सभा अभ्यास कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।

४ दिन देखि चलेको कार्यक्रम आज सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले ४ दिन भित्र सिकेका सिप र अनुभवलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले सिकेका कुरा जहाँ सिक्यो त्यहीँ छोड्ने बानी भएको भन्दै अब त्यसो नगरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले सधैँ भरी उच्च लक्ष्य लिएर अगाडि बढेमा मात्र हासिल गर्न सकिने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले यो अभ्यास मात्र नभएर जीवन उपयोगी सिकाई हुने बताउनुभयो । उहाँले अहिलेका राजनीतिक व्यक्ति तथा दललाई यो युवाहरूको चुनौती हो भन्ने सन्देश दिएको धितालको भनाई छ । उहाँले सफलता प्राप्तिको लागि निरन्तर लाग्न समेत आग्रह गर्नुभयो । कार्यक्रमले नगर युवा क्लब समेत समेत गठन गरेको छ ।

क्लबको अध्यक्षमा रविन तामाङ, उपाध्यक्षमा सविना नेपाली, सचिवमा सूर्य बहादुर तामाङ , कोषाध्यक्षमा रूपचन्द्र तामाङ र सहसचिवमा अनिष गिरी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा अपिल चौलागाई, लक्ष्मण नेपाली, लक्ष्मण गुरुङ, रिना लुइँटेल , सदिक्षा थापा, दिनेश थापा, समुन्द्र अधिकारी र अश्विन डोटेल चयन हुनुभएको नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो । ४ दिनसम्म चलेको अभ्यास कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत सुदिनराज बुढाथोकीले गर्नुभएको थियो ।

मेलम्ची नगरपालिकाको आयोजना तथा राष्ट्रिय युवा समिति सिन्धुपाल्चोकको समन्वयमा भएको कार्यक्रममा बुधवार नगर सभाको अभ्यास समेत गरिएको थियो । नगर सभामा सभाका अध्यक्ष सविना माझिले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख सूर्य बहादुर तामाङले बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख प्रशासकीय अधिकृत समुन्द्र खड्काले सहजीकरण गर्नुभएको नगर सभा सदस्य रविन वाइबाले जानकारी दिनुभयो । कार्यक्रमपछि नगरप्रमुख आइतमान तामाङले यो अभ्यासको थालनी गर्नु राम्रो भएको बताउनुभयो । उहाँले युवाहरू नै भोलिको जनप्रतिनिधि हुने भएकाले यो अभ्यासले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख उमा प्रधानले युवाहरू लक्षित यस्ता कार्यक्रमले युवाहरूमा जोस र जाँगर बढ्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाका सामाजिक शाखाका प्रमुख एवम् वडा नम्बर १०का वडा अध्यक्ष अमृत खनालले युवाहरूको मुद्दालाई सँगसँगै अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय