लण्डन/ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमति जनाउनुभएको छ ।

उहाँको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही मन्त्री र सहयोगीहरूले राजीनामा दिएपछि उहाँ पनि राजीनामा दिन सहमत हुनुपरेको हो ।

उहाँलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो । उहाँप्रति असन्तुष्टि जनाउदै उहाँको मन्त्रीपरिषद्का सदस्य र सल्लाहकार तथा सहयोगीसहित ५० जनाले राजीनामा दिएका थिए । त्यसपछि उहाँलाई राजीनामा दिन थप दबाब परेको हो ।

उहाँकै कारणले विदेश मन्त्री लिज ट्रसले जी–२० समूहको विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुने कार्यक्रम पनि रद्ध गर्नुभएको छ ।

विदेश मन्त्री ट्रसलाई कन्जरभेटिभ पार्टीको प्रभावशाली उदियमान र प्रतिस्पर्धी नेताका रूपमा हेरिएको छ । प्रधानमन्त्री जोनसनलाई दबाबमा पार्ने गरी राजीनामा दिएकाहरूले राष्ट्रको हितलाई ध्यान दिँदै आफूहरूले पदबाट राजीनामा दिएको बताएका छन् ।

५८ बर्षीय जोनसनले झण्डै तीन बर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँ कन्जरभेटिभ पार्टीका प्रमुख पनि हुनुहन्छ । उहाँलाई सो पदबाट पनि राजीनामा दिन दबाब परेको छ ।

उहाँले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएपछि नयाँ नेता छनौट गरिने छ । नयाँ नेता छनौट नहुँदासम्म उहाँले नै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुनेछ । उहाँले अक्टोबरसम्म नै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय