काठमाडौ । रामानन्द अनुसन्धान केन्द्र RAMANANDA RESEARCH CENTER (RRC ) देवघाटमा सञ्चालित पाँच दिने अनुसन्धानात्मक कार्यशाला गोष्ठीको चौँथो दिन वेद र योगसँग सम्बन्धित दुई वटा कार्यपत्र प्रस्तुत भएका छन् ।

महेश-संस्कृत-गुरुकुल-विद्यापीठका व्याकरणविभागका अध्यक्ष उपप्रा.डा. जगन्नाथ शर्मा सापकोटाको अध्यक्षतामा चौँथो दिनको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको पूर्वार्धमा संस्कृत केन्द्रीय विभाग त्रि.वि.का विभागाध्यक्ष सहप्रा.डा. माधवप्रसाद उपाध्यायले “वेदमा मानवीय चेतना” विषयक कार्यपत्र प्रस्तुत गरे । मानवरूप धारण गरेता पनि व्यावहारिक रूपमा मानव बन्न नसकेको र मान्छेबाटै त्रसित भैरहनुपरेको अवस्थामा वेदविहित आचार गरेमा मानवीय चरित्र निर्माण गर्न सकिने उनको कार्यपत्रको मुख्य विषय थियो । वैदिक मानवीय चिन्ततनले मानवमात्रको कल्याण नभई समाजमा रहने पशुपक्षी, कीट पतङ्ग लगायत प्राणीमात्रको कल्याण गर्ने उनी बताउँछन् ।

समाज र राष्ट्रको अभ्युदय र निःशेयसको उपलब्धी हुन सक्ने अवस्था वैदिक मानवीय चिन्तन र सामाजिक अभ्यासबाट हुनसक्ने बताउँदै समस्त प्राणी जगतको कल्याण चाहने वैदिक साम्यवाद नै विश्वको पहिलो र असली साम्यवाद भएको निष्कर्ष प्रस्तुत गरे । डा. उपाध्यायको कार्यपत्रले निर्भय समाजको परिकल्पना गर्न खोज्ने हो भने वैदिक मानवीय चेतना फैलाउनु आवश्यक छ भन्ने कुरामा जोड दिएको थियो ।

सो कार्यपत्रमाथि टिप्पणी गर्दै उपप्रा. रोहिणीराज तिमिल्सिनाले वेदले मानवीय गुणलाई उत्कृष्टता दिन सक्ने कुरालाई विशेष समर्थन गरे भने भौतिक दार्शनिकहरूलाई पनि वेदमार्गी नै बताउन सकिने धारणा राखे । कार्यक्रमको पूर्वार्धमा नै योग/तन्त्रका अध्येता कमलेश दवाडीले “योगविमर्श” विषयक पावर पोइन्ट प्रस्तुति दिएका थिए । उनले निरीश्वर सांख्यदर्शनको परिचय दिँदै सेश्वर योग दर्शनको परिचय प्रस्तुत गरे । मन्त्र योग र लययोगको चर्चा गरी हठयोग,शब्दसृष्टि,अर्थसृष्टि आदि योगका दार्शनिक पक्षको चर्चा गर्दै आजको विशृङ्खलित समाजलाई वैदिक योगचिन्तनका माध्यमले पुनः संयमित र संयोजित गर्न सकिने कुरामा जोड दिए ।

कार्यक्रमको दोस्रो सत्रमा पुरात्त्व र संस्कृतिविद राष्ट्रपति कार्यालयका संस्कृति सल्लाहकार प्रा.डा. महेश राज पन्तले आशिर्वादात्मक अभिव्यक्ति दिँदै रामानन्द अनुसन्धान केन्द्रले संस्कृतको जगेर्ना गर्नुपर्ने र विभिन्न प्राचीनतम ग्रन्थमाथि अध्ययन चलाएर नवीन ग्रन्थहरूको रचना पनि गर्नुपर्ने आवश्यकता दर्शाए । RRC का अध्यक्ष तथा महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिले महेशराज पन्तको आगमन र सद्भावप्रति धन्यवाद ज्ञापन गरे ।

अन्त्यमा कार्यक्रमको समीक्षा गर्दै गुरुकुलका आचार्य सन्तोष घिमिरेले प्रतिवेदन सहित सभाध्यक्ष डा. जगन्नाथ शर्मा सापकोटाको विद्वत्तापूर्ण मन्तव्य पछि कार्यक्रम समापन भयो । उक्त कार्यशाला गोष्ठीको पाँचौँ दिन अर्थात् असार १७ गते पर्यावरण र उपासना सम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय