मेलम्ची \ मेलम्ची नगरपालिकाको बाह्रौँ नगरसभा बिहीबार सम्पन्न भएको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिका केन्द्रबाट सबै वडा कार्यालय जोड्ने मुख्य सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालनयोग्य बनाइने उल्लेख छ । साथै वडाभित्रका सबै बस्तीहरुलाई सडक सञ्जालसँग जोडी स्थानीय उत्पादनहरुको बजारीकरण गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगर प्रमुख आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नगरभित्रका सबै वडाहरुमा बिस्तार गरिने, बाहुनेपाटी बजारलाई व्यापारिक क्षेत्रको रुपमा र मेलम्ची बजार क्षेत्रलाई प्रशासनिक क्षेत्रको रुपमा विकास गरिने, नगरका मुख्य बजार केन्द्रहरुमा सार्वजनिक शौचालय र प्रतीक्षालय एवम् ग्रामीण क्षेत्रमा ‘एक वस्ती, एक सामुदायिक भवन’ निर्माण गर्ने, प्रशासनिक भवन, स्वास्थ्य चौकी, सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिको पहुँच पुर्याउन आवश्यक पूर्वाधारको विकास गरिने उल्लेख गरिएको छ ।


शिक्षातर्फ गरिब तथा जेहेन्दार पाँच जना विद्यार्थीलाई नगरभित्रको प्राविधिक विद्यालयमा इन्जिनियरिङ धारतर्फ कक्षा १२ सम्म र दुई जना विद्यार्थीलाई कृषि प्राविधिक शिक्षा डिप्लोमासम्म अध्ययनका लागि नगर प्रमुख छात्रावृत्ति कोषमार्फत निःशुल्क शिक्षा प्रदान गर्ने, आमा बुबा गुमाएका विद्यार्थीहरुलाई अभिभावकत्व प्रदान गर्दै सहयोग गरिने, नेपाल सरकारले कक्षा ६ सम्म उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रमलाई नगरपालिकाको आन्तरिक स्रोतबाट कक्षा ७ र ८ मा थप विस्तार गरिने, आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्षभन्दा माथिका बालबालिकाहरुसँग अन्तरक्रिया गरी जीविकोपार्जनका लागि आवश्यक तालिमको व्यवस्था गरिने उल्लेख छ ।

स्वास्थ्यतर्फ मेलम्ची नगर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा र नगरपालिकाभित्रका स्वास्थ्य इकाइहरुलाई क्रमशः स्वास्थ्य चौकीको रुपमा स्तरोन्नति गरिने, सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमा गराउने मेलम्ची नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । मेलम्ची इन्द्रावती नदीमा आएको बाढीले प्रभावित उद्योग व्यवसाय पुनः सञ्चालन गर्न पहल गरिने, प्राकृतिक प्रकोपबाट क्षति भएका र उच्च जोखिममा रहेका व्यक्ति तथा संस्थाहरुको स्वामित्वमा रहेका जग्गा, जमिन र घर संरचनामा लाग्ने राजस्व एकीन गरी सहुलियत, छुट एवं मिनाहा दिने नीति लिइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


कृषितर्फ एक घर एक घरबारी बगैंचा स्थापना गरिने र सो बगैंचा स्थापनाका लागि आवश्यक सामग्री नगरपालिकाबाट अनुदानमा उपलब्ध गराउने, बाँदर तथा वन्यजन्तुबाट कम क्षति हुने खालका बालीहरुको खेतीमा अनुदान दिइने, कृषक परिचयपत्र वितरणको थालनी गरिने, उत्कृष्ट किसानलाई पुरस्कृत गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पर्यटनतर्फ मेलम्ची नगरपालिका क्षेत्रभित्रका पर्यटकीय स्थानमा होमस्टे सञ्चालन गर्न सहयोग गर्ने, महिला र पुरुषलाई समान कार्यका लागि समान ज्यालालाई सुनिश्चित गरिने, नगरभित्रका पर्यटकीय स्थलहरु धौले, गुफाडाँडा, चिसापानी, भोटेचौर, ककनी, तपचुली, थानाभन्याङगढी लगायतमा एकीकृत पर्यटकीय पूर्वाधार विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनलाई वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


आगामी पाँच वर्षभित्र नगरपालिकालाई पूर्ण बालमैत्री नगर घोषणा गर्ने नीति लिइनुका साथै यस आर्थिक वर्षमा वडा नं. ५, ७ र ८ बाट घोषणा गर्दै अन्य वडाहरुमा विस्तार गरिने छ । बालश्रम, बालविवाह, बहुबिबाह, दाइजो, बोक्सी जस्ता कुप्रथाहरु नियन्त्रणका लागि टोल विकास संस्थाको परिचालन गरी सचेतनामूलक कार्यक्रमहरु गर्ने, जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जेष्ठ नागरिक शिविर सञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी सहायक सामग्री वितरण गर्नुका साथै जीविकोपार्जनका सहयोग पुर्याउन सिप विकास कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै नगरस्तरीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरी विपद् पूर्वसूचना प्रणालीको विस्तार तथा व्यवस्थापन गर्ने नीति लिइने, विपद् व्यवस्थापनको पाटोलाई व्यवस्थित गरी क्षति न्यूनीकरण गर्ने नीतिलाई विस्तार गरिने उल्लेख छ ।

नगर उपप्रमुख उमा प्रधानले आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्नुभयो । विनियोजित कुल बजेट रु १ अर्ब ३४ करोड ७५ लाख रहेको छ । यसमध्ये चालुु प्रकृतिका कार्यक्रम तथा प्रशासनिक खर्च शीर्षकमा ५२ करोड ४० लाख १० हजार रुपैयाँ र पुँजीगत खर्च शीर्षकमा ८२ करोड ३४ लाख ९५ हजार बजेट विनियोजन गरिएको छ । नगरपालिकाले विपद् उत्थानशील कार्यको संघीय विशेष अनुदानबाट प्राप्त हुने रकमसमेत गरी चार करोड रकम विनियोजन गरिएको छ । वडाको मुख्य सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालनयोग्य बनाउन पाँच करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय