काठमाडौँ । नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कन्चन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागु औषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताउनुभयो । 

जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय