सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधानले सङ्घीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बाढीले वितण्डा गरेको मेलम्ची आसपास र पीडितका बारेमा सम्बोधन नभएको गुनासो गर्नुभएको छ । 

मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको सन्दर्भमा सरकाले बाढीले वितण्डा गरेको मेलम्ची आसपास र पीडितका बारेमा सम्बोधन नगरेको गुनासो गर्नुभएको हो । 

उहाँले नयाँ बजेटमा पनि यस विषयमा उल्लेख नहुनु दुख लाग्दो विषय भएको बताउनुभयो । बुधवार एक विज्ञप्ति जारी गर्दै सङ्घीय सरकार मेलम्चीप्रति अनुदार रहेको देखिएको बताउनुभयो । 

उहाँले भन्नुभएको छ ,‘मेलम्ची खानेपानी विकास समिति पनि विघटन गरेको आशयका कुरा आएका छन् । यसले सङ्घीय सरकार मेलम्चीप्रति अनुदार रहेको देखाउँछ । मेलम्चीको पानीसँगै याङ्ग्री र लार्केको पानी पनि काठमाडौँ लैजाने योजना छ । तर, यहाँको बारेमा सङ्घीय सरकारले बेवास्ता गरेको स्पष्ट देखिन्छ ।’ 

मेलम्ची खानेपानी विकास समिति नै विघटन भएमा यहाँका सामाजिक उत्थान कार्यक्रमहरू पनि विघटन हुन सक्दछन् । यस्तो गहन विषयमा बजेटमा ध्यान नपु¥याउनु दुःखको कुरा हो । मेलम्ची, हेलम्बु पाँचपोखरी र इन्द्रावती क्षेत्रका जनताका पक्षमा विशेष योजना आउनु आवश्यक छ ।’

उहाँले मेलम्ची नगरपालिकाको तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने प्रतिबद्धता समेत जनाउनुभएको छ । गत असार १ गते र साउन १६ गते मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्ची नगरपालिकामा ठुलो धनजनको क्षति भएको थियो । बाढीले कैयौँ घर, खेत, जग्गा जमिन बगायो भने बाटा घाटा, पुल पुलेसादेखि अन्य धेरै भौतिक क्षति पुगेको थियो। बाढीले मेलम्ची नगरपालिका क्षेत्रमा२ सय १५ परिवार भन्दा धेरै विस्थापित बनाउनुको साथै हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका क्षति भएको थियो ।

बाढी पछि हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिका आसपास असुरक्षित हुने विज्ञहरूको अनुमान रहेको छ । उहाँले यो वर्षको मनसुन सुरु भैसकेको र प्रशस्त पानी पर्न सुरु भएकोले यसको असर र प्रभावबाट बच्न बचाउन पूर्व सावधानी अपनाउन आग्रह गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय