काठमाडौं । स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ ।
परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता गतिविधिले त्रिभुवन विश्वविद्यालयको चरित्र र नैतिकतामाथि प्रश्न उठेको जनाएको हो ।
परिषद्का अध्यक्ष निराजन नेपालद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल, स्व.वि.यु. निर्वाचनका लागि सदैव तयार रहेको भन्दै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत्र ५ गते स्ववियु निर्वाचनको मिति तोकेर गरेको पत्राचारको अक्षरक्ष पालना गर्न त्रिविलाई ध्यानाकर्षण गराएको छ ।
स्व.वि.यु. चुनावको कार्य तालिका जारी अगावै स्नातक तहको परीक्षाको नतिजा प्रकाशित गर्न पनि परिषद्ले माग गरेको छ ।
स्व.वि.यु. निर्वाचनको कार्य तालिका यथाशीघ्र निकाल्न र निर्वाचन भव्य, सभ्य तरिकाले सम्पन्न गर्न पनि परिषद्ले त्रि.वि.लाई आग्रह गरेको छ ।
त्रिवि शैक्षिक क्यालेन्डरमा २÷२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ तर २०६५ चैतयता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।
२०७४ र २०७६ मा स्ववियु निर्वाचन तयारी थालिए पनि अन्तिम समयमा स्थगित हुन पुगेको थियो । २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय